साउन २१, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्थानीय तहलाई समृद्ध बनाउनका लागि सहकारी क्षेत्रसँगको सहकार्यलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका छन् । राष्ट्रिय सहकारी बैंकको १६ औं स्थापना दिवस तथा १५ औं कारोबार शुभारम्भ दिवसका अवसरमा एक कार्यक्रममा पण्डितले यस्तो बताएका हुन् ।
सहकारी क्षेत्रमा श्रम, सीप र पुँजी प्रसस्त भएकाले त्यसलाई स्थानीय विकासमा लगाउन स्थानीय सरकारको स्पष्ट र प्रभावकारी योजना बनाउन आवश्यक रहेको उनको भनाई छ । जनता सहकारीमा आवद्ध भएको, श्रम, शीप र पुँजी पनि भउकाले त्यसमा राज्यको लगानी थपेर प्रभावकारी विकास निर्माणमा लाग्न उनले स्थानीय तहलाई आह्वान पनि गरे । सहकारी क्षेत्रको नियमन, अनुगमन र प्रवद्र्धनको जिम्मेवारी स्थानीय सरकारले पनि पाएकोले सहकारीका राम्रा कामलाई प्रवद्र्धन गर्न र भएका कमी कमजोरीमा खबरदारी गर्न उनको सुझाव छ । स्थानीय सरकारहरुले सहकारीलाई प्रवद्र्धन सहकारीका अनुदान तथा ऋणसमेत गलत ठाउँमा प्रयोग भए गरिवी घटाउन र समृद्वि हासिल गर्ने अभियान पूरा गर्न नसकिने उनको भनाई थियो । ‘यदि सहकारीको पैसा जग्गा दलालीमा लगानी भएको भए त्यस्ता सहकारी र व्यक्तिलाई दण्डित गर्नुपर्छ ।’ उनले भने ।
सहकारीमा निश्चित व्यक्तिको हालीमुहाली हुने गरेको संकेत गर्दै मन्त्री पण्डितले भने, ‘सहकारीलाई नीजि तबरबाट सञ्चालन हुने प्रवृति रोक्नुहोस् ।’ राज्यले सहकारीलाई तीन खम्बे अर्थनीति अनुसार अगाडि बढाएको चर्चा गर्दै उनले सहकारी क्षेत्रले राज्यको समग्र क्षेत्रमा कति योगदान गरेको छ भन्ने स्पष्ट तथ्यांक आउनु पर्नेमा जोड दिए । २०६० असार २५ गते दर्ता भई २०६१ साउन १९ गतेदेखि कारोबार शुभारम्भ गरेको बैंकमा देशभरका करिव १० हजार सहकारी संघ संस्था र सेयर सदस्यको १ अर्ब ४ करोड रुपैयाँ सेयर पुँजी रहेको छ । बैंकले २० अर्ब निक्षेप, १३ अर्ब कर्जा लगानी गरेर गत आर्थिक वर्षमा ३० करोड मुनाफा कमाएको छ ।
बैंकले आर्थिक वर्ष २०७३÷०७४ को कारोबारबाट सेयर सदस्य सहकारी संघ–संस्थाहरुलाई १४ प्रतिशत लाभांश दिएको थियो । गत आर्थिक वर्षको कारोबारबाट यस पटक १५ प्रतिशत लाभांश दिने लक्ष्य बैंकले लिएको छ ।