नेपाल गोल्डेन आइडलको उपाधि सुमन र जेबिकालाई

माघ २६, काठमाडौँ । ललितपुरका सुमन लामा घिसिङ र दाङकी जेबिका रेउलेले सातौैँ संस्करणको नेपाल गोल्डेन आइडलको उपाधि जितेका छन् । पोखरामा आज भएको अन्तिम प्रतिस्पर्धामा सुमनले गायनतर्फको र जेबिकाले नृत्यतर्फको उपाधि जित्न सफल भएका हुन् ।

प्रतियोगितामा गायनतर्फ सङ्खुवासभाका मदन लिम्बु फस्ट रनर्सअप र खोटाङका किस्मत चाम्लिङ राई सेकेन्ड रनर्सअप बने । नृत्यतर्फ कैलालीकी नेहारिका बोहोरा फस्ट रनर्सअप, बाँकेकी मनिषा परियार सेकेन्ड रनर्सअप र काठमाडौँकी आकृती पोखरेल थर्ड रनर्सअप घोषित भएका थिए । त्यस्तै गायनतर्फका चार जना र नृत्यतर्फका पाँच जनाबीच अन्तिम प्रतिस्पर्धा भएको थियो । गायनतर्फ काठमाडौँकी सुजिता योञ्जन र नृत्यतर्फ झापाकी स्वस्तिका काफ्ले प्रतियोगिताको फाइनलमा पुगेका थिए । प्रतियोगिताको निर्णायकमा गायक तथा सङ्गीतकार रामभक्त जोजीजु, विनोद बानियाँ, गुरुङ फिल्मकी निर्देशक जसु गुरुङ, कोरियोग्रफर निरुता गुरुङ र छेटौँ संस्करणको विजेता सेविका कोइराला रहेका थिए ।

विजेतालाई गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ, जिल्ला समन्वय समिति कास्कीका समन्वय अधिकारी नवराज बराल, गुरुङ फिल्मका कलाकार ताराबहादुर गुरुङलगायतले पुरस्कार वितरण गर्दै यस्ता प्रतिस्पर्धाले प्रतिभा प्रस्फुटनमा सहयोग पुग्नुका साथै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रतियोगिताअन्तर्गत मुलुकका विभिन्न ११ स्थानमा अडिसन भएको थियो । अडिसनमा गायन र नृत्यतर्फ गरेर चार हजार ७०० जना सहभागी भएको आयोजक गोल्डेन स्टार मल्टिमिडियाका निर्देशक सरन गुरुङले जानकारी दिनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.