पहिचान रक्षाका लागि डम्फु र टुङ्नाको भूमिका उलेख्यः मन्त्री तामाङ
प्रारम्भ खबर,
माघ २५, काठमाडौँ । युवा तथा खेलकुन्द मन्त्री दावा तामाङले तामाङ समुदायको पहिचान रक्षाका लागि डम्फू र टुङ्नाले उलेख्य भूमिका खेलेको बताएका छन् ।

शनिवार साँस्कृति युवा समूहले आयोजना गरेको राष्ट्रिय पर्व मञ्जुश्री सम्बत् २८५७ औँ सोनाम ल्होसारको अवसरमा आयोजित साँस्कृतिक तथा सम्मान कार्यक्रममा उनले सो कुरा बताएका हुन् । डम्फुले तामाङ संस्कृति र संस्कारलाई चिनाउन मद्दत पु¥याएको बताउँदै डम्फु बजाउने मात्र होईन तागत देखाउने समय आएको मन्त्री तामाङले बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका युवा तथा खेलकुद मन्त्री तामाङले समुदायको आवाजलाई स्थापित गराउन डम्फु प्रतिकको रुपमा रहेकोले साँस्कृतिक बाजा, भाषा, भेषभूषा र तम्बा काईरन लगायत तामाङको रिमठिमलाई संरक्षण गर्दै साँस्कृतिक सम्पदाको प्रर्वद्धनमा सबैले जोड दिनुपर्ने बताए ।

त्यस्तै संस्कृति तथा पर्यटन पूर्व राज्यमन्त्री पर्शुराम तामाङले पहिचानको अधिकारका आन्दोलनमा संस्कृतिले उल्लेख्य भूमिका खेलेको भन्दै पहिचान र धर्म संस्कृतिको जर्गेना गर्नुपर्ने बताए । सोनाम ल्होसारको शुभकामना व्यक्त गर्दै उनले राष्ट्रिय पर्वले तामाङ समुदायको पहिचान देखाउन थप उत्साह उर्जा मिलेको बताए । पहिचानलाई बचाउन आफु मन्त्री भएको बेला खादाबारे भएको भ्रमका विषयमा सदनमै आवाज उठाएर विरोध समेत गरेको बताए । तामाङ समुदाय मात्र नभई आदीवासी जनजातीको संस्कार र संस्कृतिमाथी पटक–पटक प्रहार हुने कार्यलाई रोक्न सबै जना एक ढिक्का हुनुपर्ने बताए ।

त्यस्तै काँग्रेस महासमिति सदस्य तथा युवा नेता सार्कीमान लामाले रिमठिम र भाषा संस्कृतिको प्रचारशैलीको अभाव भएको बताए । तामाङ संघसंस्था तथा अन्य सरोकार राख्ने निकायबाट संस्कृति र नेपाली आदीवासीको मौलिकतालाई जर्गेना गर्नुपर्ने बताए । नेता लामाले तामाङ समुदायको कला, संस्कृति, भाषा, मौलिक बाजा तथा भेषभूषा जस्ता विषयवस्तुलाई गहन रुपमा अध्ययन र प्रचार गर्नुपर्ने आवश्यक रहेकोले सम्बन्धित व्यक्ति संघसंस्थाले त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।

काठमाडौँको चलचित्र विकास बोर्डको हलमा भएको कार्यक्रममा सामाजिक, खेलकुद र कलाकारिता क्षेत्रबाट समुदाय र राष्ट्रलाई योगदान पु¥याएका व्यक्तित्वहरुलाई सम्मान तथा कदरपत्र प्रदान गरेका थिए ।

