राष्ट्रिय नाचघरमा अग्रज नाट्यकर्मीहरूको भेला

माघ २२, काठमाडौं । राष्ट्रिय नाचघरमा आज २०४६ सालअघिका रंगकर्मीहरू भेला भएका छन् । भेलामा उपस्थित अग्रज रंगकर्मीहरूले आफूहरू अझै पनि नाटकमा अभिनय गर्नका लागि उत्साही रहेको बताएका छन् ।

रंगकर्मी राजेन्द्र शलभले पुराना रंगकर्मीहरू सुस्ताएकाले उनीहरूलाई रंगमञ्‍च पुनः जागरूक गराउन भेलाको आयोजना गरिएको बताए । उनले यो पहिलो पाइला भएको र यसले आगामी दिनमा सबैलाई रंगकर्ममा सक्रिय हुन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । नेपाल संगीत नाट्य प्रतिष्ठानका उपकुलपति एवं अभिनेता हरिहर शर्माले पुराना रंगकर्मीहरूको भेला उपलब्धिमूलक पहल भएको बताउँदै यसले पुराना रंगकर्मीहरूलाई पुनः रंगकर्ममा सक्रिय गराउने उल्लेख गरे । उनले आफ्ना लागि कुनै भूमिका मिले अभिनय गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोककुमार (अशोक प्यासी) राईले पुराना र वरिष्ठ रंगकर्मीहरू उपस्थित यो भेला महत्त्वपूर्ण रहेको बताउँदै भने, “मैले के गर्नुपर्छ, तपाईंहरूले नै भन्नुस् ।” भेलामा रंगकर्मी बद्री अधिकारीले सांस्कृतिक संस्थानले अगुवाइ गरेर पुराना रंगकर्मीलाई लिएर वर्षमा एउटा मात्रै पनि नाटक गर्ने व्यवस्था गरे आफूहरूले नाटकमा समय दिने बताए । अर्का रंगकर्मी मोहन निरौलाले भेलाले एउटा निश्चित उद्देश्य लिनुपर्ने र रंगकर्मीहरूको अभिलेखीकरण गर्नुपर्नेमा विशेष जोड दिए । उनले पनि आफूले नाटक खेल्ने बताए ।

कार्यक्रममा रंगकर्मीहरु रमेश बुढाथोकी, कृष्ण मल्ल, विजय विस्फोट, हरिबहादुर थापा, सरोज खनाल, भुवन चन्द, रवीन्द्र खडका, सम्राट सापकोटा, रमेशरञ्‍जन झा, निशा शर्मा, मीना खड्का, मदनदास श्रेष्ठ र रचना सिंहले आफ्नो विचार व्यक्त गरे । कार्यक्रममा अधिकांश रङकर्मीहरूले मौका मिले नाटकमा अभिनय गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा भएको उपस्थितिबाट आफू उत्साहित भएको रंगकर्मी किशोर डंगोलले बताए । शलभले पुराना नाट्यकर्मीहरूले खेल्ने नाटक अशेष मल्लले लेख्‍ने र निर्देशन सुनील पोखरेलले गर्ने भएको जानकारी गराए ।

कार्यक्रमको थालनीमा उपस्थित रंगकर्मीहरूको स्वागतमा गीतसहितको नाट्य प्रस्तुति मञ्चन गरियो । नाचघरका रंगकर्मीद्वय प्रभाकर शर्मा र वीरेन्द्र हमालको संयोजनमा उक्त प्रस्तुतिमा संस्थानका गायक कलाकार, संगीतकर्मी तथा केही नाट्यकर्मीहरूले कला प्रस्तुत गरेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.