कोरोनाविरुद्धको खोप लगाउन आजबाट सुरु गरिँदै

माघ १४, काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउन आजबाट सुरु गर्ने भएको छ । भारतबाट अनुदानमा प्राप्त खोप सरकारले प्राथमिकताका आधारमा आजबाट लगाउन सुरु गर्न लागेको हो ।

खोप अभियानको उद्घाटन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, त्रिवी शिक्षण अस्पताल र एपीएफ अस्पतालबाट एकसाथ हुने भएको छ । खोप अभियानको उद्घाटन बुधबार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले बिहान १० बजे बालुवाटारबाट भर्चुअल कार्यक्रममार्फत् अभियानको उद्घाटन गर्दैछन् । ६६ वटा जिल्लाका खोप केन्द्रबाट जुममार्फत् बालुवाटार जोडिने र खोपको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

खोप काठमाडौंका केन्द्रहरुमा आज बिहान पुर्याइने सरकारले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्लाका १२ वटा हब अस्पतालहरुलाई खोप केन्द्रका रुपमा तोकेको छ । केन्द्रीय भन्डारण कक्षमा राखिएको खोप बुधबार बिहान एकैसाथ १२ वटा केन्द्रमा पठाइने काठमाडौंका कोभिड फोकल पर्सन डा. गुणराज लोहनीले जानकारी दिए । खोप केन्द्रका रुपमा सबै जिल्लाका हब अस्पतालहरुलाई तोकिएको छ ।  एउटै क्षेत्रमा पर्ने हब र स्याटलाइट अस्पतालहरुमा यिनै केन्द्रबाट खोप वितरण हुनेछ ।

कोभिड–१९ विरुद्धको खोप अभियान अन्तरगत सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाईकर्मी, एम्बुलेन्स तथा शब बहान चालक र अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी  गरि ४ लाख ३० हजार नागरिकलाई खोप दिँदैछ । त्यसका लागि काठमाडौं उपत्यकामा १७ सहित  १५ वटा खोप केन्द्र तोकिएको छ । भारतको अष्ट्राजेनिका र सिरम कम्पनीको उत्पादन कोभिशिल्ड खोप अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) ले प्रमाणित गरि १२ वटाभन्दा बढी देशले मान्यता दिइसकेको खोप हो । यो खोप ४ हप्ताको फरकमा २ डोज दिइन्छ ।

नेपालमा पनि १ पहिलो डोज दिएको १ महिनापछि दोस्रो डोज दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैबीच, नेपालमा कोभिड–१९ विरुद्धको खोप पहिलोपटक  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.सागर राजभण्डारी र प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोलाले लगाउने भएका छन् ।

पहिलो खोप लिन लागेको बारे शुक्रराजका निर्देशक डा. सागर राजभण्डारीले सबैमा सकारात्मक भएर खोप लिन आह्वान गरेका छन् । उनले बाह्रखरीसँग भने, “विश्वमा नै सुरक्षित प्रमाणित भइसकेको यो खोप लिने प्राथमिकतामा परेका सबैलाई निर्धक भएर लगाउन मेरो अनुरोध छ ।”

शुक्रराजबाट शुरु हुने खोप अभियान देशका ७७ वटै जिल्लामा आजबाटै सञ्चालन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोपका लागि काठमाडौंमा १० र उपत्यका बाहिर तीनसय खोप केन्द्र तोकिएको छ ।

कोरोनाविरुद्धको खोप लगाइने काठमाडौंका १२ अस्पतालहरु
१. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु
२. वीर अस्पताल, महाँकाल
३. आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल, कीर्तिपुर
४. पाटन अस्पताल, लगनखेल
५. परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, थापाथली
६. त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज
७. काठमाडौं मोडेल अस्पताल, बागबजार
८. काठमाडौं मेडिकल कलेज, जोरपाटी
९. सशस्त्र प्रहरी अस्पताल, बलम्बु
१०. सहिद गंगालाल अस्पताल, बाँसबारी
११. नेपाल मेडिकल कलेज, अत्तरखेल
१२. वीरेन्द्र सैनिक अस्पताल, छाउनी

खोप लगाएपछि सामान्य शारीरिक असर देखिए पनि नआत्तिन विज्ञहरुले सुझाएका छन् । अहिले नेपालमा दिन लागिएको कोभिशिल्ड खोपको साईड इफेक्टस्वरूप  दश जनामध्ये एक जनामा जीउ भारी हुने, हल्का टाउको दुख्ने, बान्ता हुने, रुघा लागेजस्तो हुने लक्षण देखिन सक्ने विज्ञहरुको भनाइ छ ।

त्यस्तै सयमा एक जनालाई पसिना आउने, रिंगटा लागेजस्तो हुने र छालामा बिमिरा आउनेजस्ता समस्या देखिनसक्ने उत्पादक सिरम इन्स्टिच्युट अफ इन्डिया कम्पनीले जनाएको छ ।

वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. वासुदेव पाण्डेका अनुसार  कोभिशिल्डको इफिकेसी (प्रभाव मूल्यांकन) र अन्य देशको परिणामलाई हेर्दा  सामान्य साइड इफेक्ट देखिए पनि यसको दीर्घकालीन असर भने रहँदैन । ढुक्क भएर खोप लगाउन उनको सुझाव छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.