माघ १२, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन गर्नेहरू देश विरोधी हुन् भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको अभिव्यक्ति अलोकतान्त्रिक भएको ठहर गरेका हुन् ।
‘फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु हरकोहीको नैसर्गिक अधिकार हो,’ शर्माले विज्ञप्तिमा भनेका छन्, ‘प्रधानमन्त्रीको अभिव्यक्ति अलोकतान्त्रिक त छ नै यसले उहाँमा रहेको अधिनायक आकांक्षालाई थप उजागर गरेको छ ।’ अदालतमा भइरहेको बहसलाई प्रधानमन्त्रीले ‘तमासा’को संज्ञा दिनु अदालतको स्वतन्त्र विवेकलाई कुण्ठित गर्ने प्रयत्न भएको कांग्रेसको ठहर छ ।
‘सम्मानित पाका अधिवक्ताको अपमान सम्पूर्ण ज्येष्ठ नागरिक अनि सभ्य समाजकै अपमान हो,’ विज्ञप्तिमा भनिएको छ । यसैगरि ‘आलोचक पत्रकारलाई ‘नर्क जान्छन् भन्नु’ प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति भएको र पूर्व प्रधानन्यायाधीशलाई ‘अजासु’ भनेर टिप्प्णी गर्नु अभिव्यक्ति स्वन्तत्रताविरुद्धको बर्बराहट भएको कांग्रेसको ठहर छ । प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमालाई धुलिसात बनाउँदै लगेको तथा आफ्नो कदम विरुद्ध उठेका स्वर र समुदाय हरेकलाई होच्याउने र अपमान गर्ने काम गरेर अमर्यादित ढंगले अपमान गरिरहेको कांग्रेसको ठहर छ ।

