नेपाल टेलिकमले आइपी प्रविधिमार्फत चल्ने ‘भ्वाइस टेलिफोन’ सेवा शुरु

साउन १८, काठमाडौं। नेपाल टेलिकमले वितरण गरिरहेको घरसम्म फाइबर अर्थात् (एफटिटीएच) सेवा अन्तर्गत इन्टरनेट सेवाको साथै आइपी प्रविधिमार्फत चल्ने ‘भ्वाइस टेलिफोन’ सेवा शुरु गरेको छ ।

सेवा आरम्भको अवसरमा २०७५ साउन १० गतेदेखि तीन महिनाका लागि व्यावसायिक प्रवद्र्धन गर्न कम्पनीको सञ्जालभित्र भ्वाइस सेवा निःशुल्क गरिएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । आइपी प्रविधिअन्तर्गतको एफटिटीएच सेवामा उच्च गतिको गुणस्तरीय डाटाका साथै सोही फाइबरबाट ‘भ्वाइस’ सेवा समेत उपलब्ध हुन्छ । यसका लागि ग्राहकलाई नयाँ नम्बर प्रदान गरिन्छ । हाल यो सेवा एफटिटीएच वितरण भइरहेका स्थानमा डाटाका साथ उपलब्ध गराइएको छ । बाँकी स्थानमा पनि एफटिटीएच विस्तारसँगै क्रमशः उपलब्ध गराइने टेलिकमले जनाएको छ । हाल उपत्यकाको कीर्तिपुर, सैंबु, गोंगबु, गोठाटार, दरबारमार्ग, ठमेल, हात्तीसार, जावलाखेल, लगनखेल, कलंकी र उपत्यका बाहिर भरतपुर राजमार्ग क्षेत्र, बुटवल, वीरगञ्ज तथा पोखरा लेकसाइड क्षेत्रमा यो सेवा उपलब्ध छ ।

टेलिकमले मुलुकभर उच्च गतिको डाटा सेवा उपलब्ध गराउने योजनाअनुरुप फाइबरबाट उच्च गतिको एफटिटीएच सेवा वितरण शुरु गरेको हो । कम्पनीले एफटिटीएच सेवा बृहत्ररुपमा विस्तारका लागि आवश्यक पूर्वाधार निर्माण गरिरहेको छ । परम्परागत कपर नेटवर्कको सट्टामा ग्राहकको घरसम्म अप्टिकल फाइबर पुर्‍याई आवाज, उच्च गतिको इन्टरनेट, दृष्य सेवा प्रदान गर्न सकिने भएकाले यसलाई प्रभावकारी मानिएको छ । ग्राहक माझ सस्तो तथा सुलभ दरमा एफटिटीएच सेवा उपलब्ध गराउन हाल वर्षात योजना (मनसुन अफर) अन्तर्गत विभिन्न प्याकेजका रुपमा सहुलियतपूर्ण महसुलमा सेवा उपलब्ध गराइएको छ । व्यक्तिगत र कर्पोरेट ग्राहकका लागि फरक–फरक महसुल दर निर्धारण गरिएको टेलिकमले जनाएको छ ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.