एजेन्सी । ६ हप्ते सुत्केरी बिदा सकाएर न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डेन काममा फर्किएकी छन् । ३८ वर्षकी प्रधानमन्त्री ज्यासिन्डाले गएको जुन २१ (असार ७ गते) पहिलो सन्तानको रुपमा छोरी जन्माएकी थिइन् । छोरी जन्माएसँगै उनी ६ हप्ते बिदामा बसेकी थिईन् ।
उनी सत्ताको नेतृत्व गरिरहेका बेला सन्तान जन्माउने विश्वको दोस्रो व्यक्ति हुन् । यसअघि २८ वर्षअघि पाकिस्तानको प्रधानमन्त्री रहेका बेला बेनजीर भुट्टोले सन्तान जन्माएकी थिइन् । उनी बिदामा रहेका बेला उपप्रधानमन्त्री विनस्टन पिटरले जिम्मेवारी सम्हालेका थिए । ज्यासिन्डा विवाहित होइनन् । तर उनी र उनका प्रेमी क्लार्के गेफोर्डको पहिलो सन्तानको रुपमा गएको जुन २१ मा छोरीको जन्म भएको हो । छोरीको नाम निभ गेफोर्ड राखेका छन् ।
गएको अक्टोबरमा प्रधानमन्त्रीमा निर्वाचित भएकी ज्यासिन्डा सन् १८५६ पछि कम उमेरमा प्रधानमन्त्री बन्ने न्युजिल्याण्डको पहिलो व्यक्ति हुन् । ज्यासिन्डा काममा फर्किएपछि छोरीको स्याहार उनका पार्टनर (प्रेमी) गेफोर्डले गर्दै आएका छन् ।