साउन १७, काठमाडौं। विगत लामो समयदेखि शेयर बढ्न सकेको छैन। बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनीक गरिरहेका छन्। केहि माइक्रोफाइनान्स र केहि विकास बैंकले थोरै नाफा घटाए पनि अधिकांशले राम्रो नाफा गरिरहेका छन्।
बैंक तथा वित्तीय संस्थाले तरलता केही सहज भैरहेको र ब्याजदर पनि विस्तारै घट्न थालेको म्यासेज दिदै गर्दा पनि यसको प्रत्यक्ष प्रभाव भने बजारमा पर्न सकेको छैन। बजार विश्लेषकले भनिरहने बजारमा सप्लाइ बढ्यो त्यसैले बजारमा माथि जान सकेन भन्ने बाहेकका कुनै पनि नकारात्मक सूचक देखा परिरहेको छैन।
सुस्ताइरहेको शेयर बजारमा साताको अन्तिम कारोबार २.५६ अंकले घटेको छ। सूचकसँगै कारोबार रकम पनि २० करोड ७९ लाख रुपैयाँमा खुम्चिएको छ। बिहीबार कारोबार सुरु भएदेखिनै केहि सुधार देखिए पनि अन्तिम सम्ममा ०.२१ प्रतिशतले घटेको हो। बैंकिङ र उत्पादन तथा प्रसोधनका उपसूचक बाहेक सम्पुर्ण सूचक तथा उपसूचक घटेका छन्। बैंकिङ ०.७१ अंक र उत्पादन तथा प्रसोधन १.१७ अंकले मात्रै सुधार देखिएको छ। सबै भन्दा धेरै निर्जीवन बिमा कम्पनीहरुको उपसूचक ५७.३७ अंकले घटेको छ।
सबै भन्दा धेरै सानिमा माइ हाइड्रोपावर कम्पनीको तीन करोड २८ लाख रुपैयाँको कारोबार भएको छ। सबै भन्दा धेरै वेष्ट फाइनान्सका शेयरधनीले ४.०८ प्रतिशतले कमाएका छन् भने सबै भन्दा धेरै गुमाउने क्रममा सिटी एक्सप्रेसको कारोबार मै सर्किट लागेको छ। दुर्इ कम्पनीले गत वर्षको वित्तीय विवरण सार्वजनिक गरेका थिए। नाफा बढाए पनि उनिहरुको जगेडा कोष भने अझै ऋणात्मक रहेको छ।