पोखरामा रक्तसञ्चार केन्द्र निर्माण सुरु

पुस २८, काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले अध्याधुनिक सुविधा सहितको रक्तसञ्चार केन्द्र निर्माण सुरुआत गरेको छ । संस्थाले आठ करोडको लागतमा भवन निर्माण अघि बढाएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रामघाट परिसरमा विसं २०४५ मा निर्माण भएको जीर्ण अवस्थामा रहेको भवनबाट सेवा प्रदान गर्दै आएको रेडक्रसले पोखरा–८ सिर्जनाचोकमा पार्किङसहितको तीन तल्ले अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माण शुरु गरेको भवन निर्माण समितिका संयोजक डण्डराज पौडेलले जानकारी दिए ।

उनका अनुसार भवन निर्माणका लागि हालसम्म सरकारबाट एक करोड, गण्डकी प्रदेश सरकारबाट ५० लाख, महानगरबाट १५ लाख र अन्य विभिन्न सङ्घ संस्थाबाट पाँच लाखभन्दा बढी सङ्कलन भएको छ । विसं २०७२ को भूकम्पले क्षति पुगेको जीर्ण भवनमा रहेका सरकार तथा विभिन्न दातृराष्ट्रबाट प्राप्त करोडौँका मूल्यावान उपकरणको सुरक्षामा चुनौती रहेको कारण नयाँ भवन निर्माण प्रक्रिया अघि बढाइएको उनको भनाइ छ ।

उनले भने, ‘वार्षिक २७ हजार रगत आवश्यक पर्ने यस क्षेत्रका जनजनको जीवनरक्षा जस्तो पवित्र कार्यमा सहयोग गर्न महानगरको ३३ वटै वडा, विभिन्न वित्तीय संस्था र उद्योगी व्यवसायीलगायत व्यक्तिलाई आर्थिक सहयोग गर्न आह्वान गरिएको छ ।’

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.