माघ १५ देखि देशैभरका स्थानीय तहबाट मतदाता नामावली अद्यावधिक गरिने

पुस २३, काठमाडौं । निर्वाचन आयोगले आगामी माघ १५ गतेदेखि देशैभरका स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्न तयारी अघि बढाएको छ ।

आयोगका अनुसार देशभरका ७ सय ५३ वटै स्थानीय तहका वडाहरुमा सो कार्यक्रम सञ्चालन गरिनेछ । सोका लागि आवश्यक व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत आयोगले देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ । आयोगले निर्वाचनको मिति घोषणा गरिएपछि नेकपाका आधिकारिताको विवाद निरुपणसँगै निर्वाचनको तयारी थाल्ने प्रक्रिया अघि बढाएको हो । त्यस अन्तर्गत मतदाता नामावली अद्यावद्यिक गर्न लागिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । आयोगले स्थानीय तहलाई पठाइएको पत्रमा माघ १५ देखि २१ गतेसम्म सबै स्थानीय तहमा रहेका केन्द्रबाट मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको उल्लेख गर्दै सोका लागि आवश्यक सहयोग गर्न स्थानीय तहमा भनिएको छ ।

कार्यक्रम अन्तर्गत मतदाता नामावली प्रकाशित गर्ने, कुनै मतदाताको नाम र विवरण त्रुटि भएमा सच्याउनका लागि निवदेन दिने, झूटा विवरण दिएर मतदाता नामावली सिफारिस गरेको भए प्रमाणसहित उजुरी दिने, दोहोरो नामावली हटाउने, मृत्यु भएको वा नागरिकता त्याग गरेको वा रद्द गरेका व्यक्तिहरुको नाम मतदाता नामावलीबाट हटाउने क्रियाक्रलापहरु हुने भनिएको छ ।

आयोगले २०७७ पुस ५ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरुको मतदाता नामावली अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गर्न कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ ।

सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा प्रतिनिधिसभाको मध्यावधि चुनाव गर्ने घोषणा गरेको भन्दै आयोगले पुस ६ गतेबाटै मतदाता नामावली दर्ता कार्य स्थगितसमेत गरिसकेको छ । मतदाता नामावली अद्यावद्यिक निर्वाचनको तयारीका क्रममा आयोगले गर्न लागेको पहिलो कार्यक्रम हो । यस लगतै अरु कार्यक्रम क्रमशः अघि बढ्ने आयोगले जनाएको छ ।

आयोगले सो कार्यसँगै निर्वाचनको कार्यतालिका बनाउन तयारी गरिरहेको छ । कार्यदल बनाएर निर्वाचनमा लाग्ने अनुमानित खर्चको आँकलन, आवश्यक सामग्री जुटाउने, आचारसंहिता बनाउनेलगायत कार्यक्रमको प्रारुप बनाउने कामहरु शुरु गरिएको आयोगका प्रवक्ता श्रेष्ठले बताए ।नेपाल समाचारपत्रबाट

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.