साउन १७, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिका सदस्यहरूको सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले सातजना पर्सनल सेक्युरिटी अफिसर (पीएसओ) सुरक्षाकर्मी खटाएको छ ।
सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाईका क्रममा सुरक्षा थ्रेट (धम्की) आएको भन्दै सांसद निरू पाल लगायतका सदस्यहरूले सभामुख कृष्णबहादुर महरालाई बुधबार भेटेर सुरक्षाको माग गर्नुभएको थियो । सुरक्षा संवेदनशीलतालाई बुझेर बुधवार सातजना सुरक्षाकर्मी खटाइएको केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापाले भन्नुभयो,‘दुईजना पीएसओ यसअघि नै खटाइएका थिए । सुरक्षा संवेदनशीलतालाई बुझेर पिएसओ खटाइएको हो । ’ समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्ण र सदस्य सुरेन्द्र पाण्डेले यसअघि नै एक–एकजना पीएसओ पाउनुभएको छ ।
सांसद् पाल लगायत अन्य सदस्यका लागि सातजना पठाइएको जनाइएको छ । प्रहरी प्रवक्ता थापाले मिडियामा प्रचारवाजी भएजस्तो संसदीय सुनुवाइ समितिका सदस्यहरूलाई हतियार देखाइ धम्की दिएको सूचना हालसम्म प्राप्त नभएको जानकारी दिनुभयो ।