अपरिचित युवतीलाई मोटरसाइकलमा चोभार पुर्‍याउँदा लुटिए

पुस ८, काठमाडौं । प्रहरीले लुटपाटमा संलग्न रहेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौंको स्युचाटार बस्दै आएका ४९ वर्षीय लालबहादुर श्रेष्ठ छन् । युवतीलाई प्रयोग गरी उनीसहितका व्यक्तिहरु लुटपाटमा संलग्न रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

यस्तो छ घटना
गएको साउन ८ गते सिन्धुलीको कमलामाई नगरपालिका–२ का भोलाबहादुर जर्घामगर रत्नपार्कबाट मोटरसाइकलमा कलंकी जाँदै थिए । एक युवतीले ‘लिफ्ट’ मागिन् ।

युवतीले चोभारसम्म पुर्‍याइदिन अनुरोध गरिन् । भोलाले स्वीकार गरे । चोभार पुगेपछि उनी लुटिए । प्रहरीका अनुसार चोभारमा पहिलेदेखि नै बसेका अपरिचित व्यक्तिहरुले भोलालाई नियन्त्रणमा लिए । उनको साथबाट छ तोलाको सुनको सिक्री, दुईटा मोबाइल, सात हजार रुपैयाँलगायत लुटेर उनीहरु फरार भए । उनीहरुले करिब छ लाख ३५ हजार बराबरको धनमाल लुटेका थिए ।

सोही घटनाको अनुसन्धानका क्रममा ‘सागर’ भनिने लालबहादुर श्रेष्ठ पक्राउ परेका हुन् । उनलाई कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको महाशाखाले बुधबार जनाएको छ । श्रेष्ठसहितले युवतीको प्रयोग गरी अरु स्थानहरुमा समेत मानिसहरुलाई लुटपाट गरेको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.