पुस ३, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले सन् २०२१ आन्तरिक पर्यटन वर्ष हुने बताएका छन् । पर्यटन मन्त्रालयमा भएको एक अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टराईले तत्काल विदेशी पर्यटक आउने सम्भावना नरहेकोले सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रुपमा मनाउन तयारी गर्नुपर्ने बताए ।
सरकारले आन्तरिक भ्रमण वर्ष भनेर घोषणा नगरे पनि सन् २०२१ हाम्रा लागि आन्तरिक पर्यटन वर्ष हुने भएकाले यसैलाई जोड दिनेगरी सरकारले योजना बनाइरहेको बताए । कोरोनाको जोखिम रहेको अवस्थामा विदेशी पर्यटक आइहाल्ने अवस्था नभएकोले स्वास्थ्यका मापदण्ड पूरा गरेर पर्यटन बजारलाई बढाउन व्यवसायीहरुलाई आग्रह गरे । एक अर्को प्रसंगमा मन्त्री भट्टराईले अहिले चर्चामा रहेको दुईदिन सार्वजनिक बिदा दिने अवधारणा सही रहेको दाबी गरेका छन् । यसभन्दा अघि लागु भइ असफल भएको चर्चा समय परिस्थितिअनुसार अहिले सही हुने भन्दै लागु गर्न सकिने बताए ।
कर्मचारीलगायत सबैमा दुई दिनको बिदाले पुनर्ताजगी बनाउने र आन्तरिक पर्यटन समेतलाई टेवा दिनसक्ने भएकोले सरकारले अगाडि सारेको दुईदिन सार्वजनिक बिदा दिने निर्णय सही हुन सक्ने पनि मन्त्री भट्टराईले बताए । कार्यक्रममा मन्त्रालयका पर्यटन बोर्डका प्रमुख कार्यकारी डा। धनन्जय रेग्मी, होटल एसोसिएसन नेपालकी अध्यक्ष सिर्जना राणा र मन्त्रालयका अधिकृत रचना प्रधानले कोभिडले नेपाली पर्यटन र पर्यटन अर्थ व्यवस्थामा परेको प्रभावबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

