शिक्षकलाई ठेक्कापट्टा र राजनीतिमा नअल्मलिन शिक्षामन्त्रीको आग्रह

मंसिर २८, झापा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयका शिक्षक र प्रधानाध्यापकलाई ठेक्कापट्टा र राजनीतितिर नभई पठनपाठनको गुणस्तर सुधार्नतिर ध्यान दिन आग्रह गरेका छन् । मेचीनगर नगरपालिका–८ स्थित आदर्श माध्यमिक विद्यालयको नयाँ पुस्तकालय भवनको उद्घाटन गर्दै उनले शिक्षालाई प्रविधिमैत्री बनाउन शिक्षकले मेहनत गर्नुपर्ने बताए।

झापाको नमूना विद्यालयका रुपमा चिनिएको आदर्श माविमा संघीय सरकारको रु १६ लाख र प्रदेश नम्बर १ सरकारको रु छ लाख ५० हजार गरी कूल रु २२ लाख ५० हजारका लागतमा विद्यालय परिसरमा पुस्तकालय भवन निर्माण भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेवन्तराज पोखरेलले बताए।

यसअघि मन्त्री पोखरेलले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यका नाममा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान झापाद्वारा बिर्तामोडमा सञ्चालित बहुप्राविधिक शिक्षालयको शनिबार बिहान उद्घाटन गरेका थिए । बिर्तामोड नगरपालिका–४ मा भवन भाडामा लिएर सञ्चालित शिक्षालयमा कृषि, जीव र वनविज्ञान सम्बन्धी पढाइ हुनेछ ।

शिक्षालयमा १२० जनाले तीनवर्षे डिप्लोमा तहको अध्ययनको अवसर पाउने प्रतिष्ठान झापाका अध्यक्ष ज्योतिसिंह दर्लामीले बताए । उनले शिक्षालयले जग्गा भाडामा लिएको र दुई वर्षभित्र आफ्नै भवनसमेत बनाउने तयारी गरिरहेको जानकारी दिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.