मङ्सिर २४, मंसिर। रुसले नेपालको जलविद्युत् र उद्योग क्षेत्रमा ठूलो लगानी गर्ने इच्छा देखाएको छ । नेपालका लागि रुसका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले मङ्गलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई भेटेर जलविद्युत्मा लगानीको अवसर, विद्युत्को बजारलगायत अन्य उद्योगमा लगानीका विषयमा छलफल गरेको छ ।
रुसका दुई ठूला बैङ्क लान्टा र मस्को इन्डस्ट्रि«यल बैङ्कले नेपालको जलविद्युत्मा लगानी गर्ने प्रस्ताव गरेको राजदूत नोभिकभले जानकारी दिनुभयो । त्यस्तो लगानी सरकार–सरकारबीचको सम्झौतामा गर्न चाहेको प्रतिनिधि मण्डलले जनाएको छ । छलफलमा राजदूत नेतृत्वको टोलीले नेपालमा जलविद्युत् उत्पादन र वितरणसम्बन्धी कानुनी व्यवस्था तथा क्षेत्रीय बजारको सम्भावनाबारे मन्त्री पुनसँग चासो राखेको थियो । नेपालमा विद्युत् र सिँचाइका संयुक्त आयोजनाको सम्भाव्यतामाथि पनि टोलीको चासो थियो । रसियन प्रतिनिधि मण्डलले उत्पादित विद्युत् आफ्नै उद्योगमा खपत गर्न सकिने÷नसकिने विषयमा समेत मन्त्री पुनसँग प्रश्न गरेको थियो । प्रारम्भिक चरणमा नमुना परियोजनाका रूपमा कुनै आयोजनामा लगानी गर्ने र बजारको अवस्था बुझेर सरकारी र निजी दुवै क्षेत्रलाई नेपालमा लगानीका लागि प्रोत्साहित गरिने राजदूत नोभिकभले बताउनुभयो ।
छलफलमा मन्त्री पुनले आगामी १० वर्षमा नेपालको आन्तरिक बजारमा १० हजार मेगावाट विद्युत् खपत हुने प्रक्षेपण सरकारले गरेको जानकारी दिनुभयो । बढी भएको विद्युत् निर्यात गर्न भारत र बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौता गरिसकिएको उहाँले बताउनुभयो । हालसम्म नेपालमा उत्पादित विद्युत् सरकारी कम्पनी (नेपाल विद्युत् प्राधिकरण) ले खरिद गरी वितरण गर्दैै आएको छ तर आगामी दिनमा स्वदेशी वा विदेशी लगानीका आयोजनाको विद्युत् सीधै बाह्य बजारमा पठाउन सक्नेगरी लचलो कानुनी व्यवस्था गरिएको भन्दै आश्वस्त पार्नुभएको छ । नेपालमा वैदेशिक लगानीका लागि राम्रो वातावरण छ, उहाँले भन्नुभयो, “विदेशी कम्पनीले एकल, नेपाली कम्पनीसँगको संयुक्त लगानी वा सरकारी कम्पनीसँग मिलेर जलविद्युत्मा लगानी गर्नसक्छ । ” मन्त्री पुनले विद्युत् उत्पादन गरेर आफैँ बजार खोज्ने वा सरकारले बजारको व्यवस्था गरिदने दुवै अवसर लगानीकर्तालाई रहेको जानकारी गराउनुभएको थियो । भारतीय ग्रिड प्रयोग गरेर बङ्गलादेश विद्युत् निर्यात गर्नेगरी भारतसँग सैद्धान्तिक सहमति भइसकेकाले बजारको चिन्ता लिनुपर्ने अवस्था नरेहको मन्त्री पुनको स्पष्टोक्ति थियो ।
नेपालले १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखेकामा लक्ष्य भेट्ने गरी काम भइरहेको चर्चा मन्त्री पुनले गर्नुभयो । हालसम्म नेपालको जलविद्युत्मा भारत, चीन, कोरिया र नर्वेजियन कम्पनीका आयोजना निर्माणाधीन अवस्थामा रहेको जानकारी गराउँदै मन्त्री पुनले अस्टे«लियासहित अन्य मुलुकले समेत लगानीको इच्छा देखाएको उल्लेख गर्नुभयो । मन्त्री पुनले नेपाल र रुसको कूटनीतिक सम्बन्धको लामो इतिहास रहेको चर्चा गर्दै ऊर्जा क्षेत्रमा समेत गहिरो सम्बन्ध रहेको स्मरण गर्नुभयो । नेपालकै तेस्रो पुरानो २.४ मेगावाटको काभ्रेस्थित खोपासी जलविद्युत् केन्द्र रुस सरकारको सहयोगमा २०२२ सालमा बनेको थियो । भेटमा राजदूत नोभिकभका साथै लान्टा बैङ्क र मस्को इन्डस्ट्रि«यल बैङ्कका उच्च अधिकारी, रुसमा व्यवसाय गर्दै आएका गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का संस्थापक डा. उपेन्द्र महतो, एनआरएनएका उपाध्यक्ष डा. बद्री केसी तथा स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इपान) का महासचिव गोरे शेर्पा सहभागी हुनुहुन्थ्यो ।

