गाँजामाथिको प्रतिबन्ध हटाउन काँग्रेस उपसभापति निधिको माग

मंसिर २४, काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले औषधीय गुणले युक्त जडीबुटी गाँजालाई लगाइएको प्रतिबन्ध खुला गरिनुपर्नेमा जोड दिएका छन्। विश्व हिन्दू युवा सङ्घले मंगलबार पशुपतिस्थित मृगस्थलीमा आयोजना गरेको पूर्वीय दर्शन विषयक प्रवचन कार्यक्रममा उनले गाँजाखेतीबाट आर्थिक समुन्नति र मानव जीवनको रक्षासमेत हुने भएकाले यसको प्रतिबन्ध हट्नुपर्ने बताएका हुन्।

विगतमा अमेरिकाले गाँजा खेती नगर्न दबाब दिएकैले निषेधात्मक व्यवस्था भएको उल्लेख गर्दै पूर्वगृहमन्त्रीसमेत रहिसकेका नेता निधिले दुरुपयोग भने हुन नदिनेतर्फ सचेत हुनुपर्ने बताए। वाग्मती प्रदेशका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री एवं प्रदेशसभा सदस्य केशव स्थापितले गाँजाको प्रतिबन्ध खुला गरे प्रत्येक नेपाली करोडपति बन्न सक्ने भएकाले निषेधको कानून संशोधन गर्न संसदमा प्रस्ताव दर्ता भएको सुनाए। एक किलोको ५० लाख रुपैयाँसम्म पर्ने औषधीय गुणले युक्त वनस्पतिलाई खुला गरेर देशले आर्थिक समृद्धि हासिल गर्नसक्ने उनको भनाइ थियो।

आफूले औषधिका रुपमा प्रयोग गरेकाले गाँजा खुला हुनु पर्ने अभियानमा लागेका अभियानकर्मी राजीव काफ्लेले हाल प्रचलनमा रहेको कानूनले पनि औषधि र साधुसन्तलाई गाँजा प्रयोगमा छुट दिएको सुनाए। वाचन प्रवीण दीनबन्धु पोखरेलले गाँजालाई जडीबुटीका रुपमा खुला गर्न दिए अर्थतन्त्र सुदृढ हुने बताए। कार्यक्रममा सङ्घका अध्यक्ष ऋषिकेशजङ्ग शाह, त्रिमूल पार्टीका महासचिव स्वामी तथागत, स्वामी व्याघ्र वेदनाथ लगायतका वक्ताले गाँजाभन्दा धेरै लागुपदार्थ बजारमा खुलमखुला बिक्री वितरण भइरहेकामा औषधीय गुणले युक्त वनस्पति गाँजामाथिको प्रतिबन्ध छिटो हटाइनु पर्नेमा जोड दिए। रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.