बुद्ध जन्मभूमि बारेको त्रुटि सच्याउन प्रधानमन्त्रीको आग्रह

मंसिर २३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मका नाममा परस्परमा घृणा तथा द्वेष फैलाउने काम बन्द हुनु पर्ने बताएका छन् ।

कीर्तिपुर नगरपालिकाको चोभारस्थित सुलक्षण कीर्ति विहार परिसरमा ‘शान्ति सुद्धम्मावासा’ ज्येष्ठ नागरिक आवास गृहको आज शिलान्यास गर्दै उनले धर्मको मूलमन्त्र शान्ति र मेलमिलाप तथा एकता हुनु पर्ने बताए। “हरेक धर्म मेलमिलापका लागि हुनु पर्छ, फाटोको निम्ति होइन”, उनले भने, “बुद्ध दर्शनले हामीलाई यस कुरामा प्रष्ट गरेको छ ।”

प्रधानमन्त्री ओलीले शान्तिका अग्रदूत भगवान गौतम बुद्ध नेपालको भूमिमा जन्मिएको भए पनि बुद्ध धर्मको प्रचार र लुम्बिनीको विकासमा विदेशीको भर पर्नु पर्ने अवस्थालाई अन्त्य गर्न सरकार लागिपरेको बताए । “लुम्बिनीको विकासका लागि आफ्नो कर्तव्य पूरा गर्न तीव्रताका साथ अगाडि बढ्नु जरुरी छ”, उनले भने ।

बुद्ध जन्मभूमिबारे फैलाइएका भ्रम पछिल्ला समय विश्वभरबाट हट्दै गएको उल्लेख गर्दै अमेरिकाले विद्यालयको पाठ्यक्रमबाट बुद्धको जन्मभूमि सम्बन्धी भ्रम सच्याएको जानकारी पाएको बताए। “अमेरिकाले बुद्ध नेपालमा नभई अन्यत्रै जन्मिएको भन्ने विषय पाठ्यपुस्तकबाट हटाएर नेपालमै जन्मिएको भनेर लेखेको छ”, उनले भने, “अन्य देशको पाठ्यक्रममा पनि त्रुटी भएको भए म सच्याउन आग्रह गर्दछु ।”

लुम्बिनीलाई विश्वभरका बौद्धमार्गीको आस्थाको केन्द्रका रुपमा विकास गरिने उल्लेख गर्दै उनले लुम्बिनीमा निर्माण गर्न लागिएको पाँच हजार क्षमताको ध्यान केन्द्रको निर्माण सम्पन्न हुने क्रममा रहेको बताए । प्रकृति र मानवबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताउँदै प्रधानमन्त्रीले लुम्बिनीलाई प्रकृतिमय, मानवमैत्री, जीवनमैत्री ध्यान केन्द्रका रुपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरे। “पारिस्थितिक प्रणालीको नमूनाका रुपमा हामी लुम्बिनीलाई विकास गर्दैछौँ”, उनले भने ।

पछिल्ला समय सत्यभन्दा स्वार्थ ठूलो भइरहेकाले समाजमा द्वन्द्व बढ्दै गएको भन्दै उनले स्वार्थको भन्दा पनि सत्यको पूजारी बन्न अपिल गरे । स्वार्थ हाबी हुँदा आफूले देश र जनताको पक्षमा काम गर्दा पनि कुनै पक्षबाट सहयोग नपाएको प्रधानमन्त्रीले बताए। समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न सरकार लागि परेको उल्लेख गर्दै उनले अब कुनै पनि नेपालीले असुरक्षा र अभाव महसुश गर्नु नपर्ने बताए ।

“अब कसैले पनि म हेपिएँ, ठगिएँ, असुरक्षित र अभावग्रस्त छु भन्ने महसुस गर्नु पर्दैन, सरकार आवश्यक र औचित्यका आधार तथा जैविक र न्यायोचित रुपमा प्राप्त गर्नुपर्ने कुरा पूरा गर्न तयार छ ।” चन्दा नदिएकै भरमा केही अवाच्छित तत्व व्यक्ति हत्यामा उत्रिएका भए पनि सरकार हत्या हिंसा रोक्न क्रियाशील रहेको बताए । सबैले निर्भय भएर बाँच्न पाउने वातावरण सिर्जना गर्ने उनको भनाइ थियो ।

कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले आफू सो क्षेत्रमा सर्वदलीय संयन्त्रमा रहँदैदेखि नै विहारको विकासमा लागेको जानकारी गराउँदै ज्येष्ठ नागरिक आवास गृहको निर्माणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । विहारका प्रमुख डा अनोजा गुरुमांले ज्येष्ठ नागरिकलाई सम्मान र सुविधाका लागि रु ३० करोडको लागतमा आवास गृह निर्माण गर्न लागिएको बताए ।

सो अवसरमा प्रधानमन्त्री ओलीले आवास गृह निर्माण गर्न धर्मपत्नी राधिका शाक्यका तर्फबाट रु पाँच लाख सहयोग उपलब्ध गराउने घोषणा गरेका थिए । विहारले शारीरिक तथा मानसिक स्वास्थ्यलाई सबल बनाउन विपश्यना ध्यान तथा जनस्वास्थ्यका क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.