बाला चतुर्दशीमा पशुपतिमा दीपदान गर्न नपाइने

मंसिर २३, काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन दिवङ्गत पितृका नाममा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिने दीपदान यस वर्ष कोरोना महामारीका कारण नहुने भएको छ ।

त्रयोदशीको बेलुकीदेखि रातभर पशुपतिमा दीपदान गरी चतुर्दशीका दिन बिहान पशुपति क्षेत्रमा शतबीज छर्ने गरिएकामा यस वर्ष कोरोना महामारी फैलन सक्ने हुँदा भौतिक दूरी कायम गरी दीप दान गर्न असम्भव हुने देखिएकाले बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

त्रयोदशीको बेलुकीदेखि दीपदान गर्न नदिएपनि चतुर्दशीको बिहान भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर शतबीज छर्न सकिने कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए । बाला चतुर्दशीसमेत भनिने यस पर्वका अवसरमा पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने गरेका थिए । कोरोनाका कारण यस वर्ष बाला चतुर्दशीको अवसर पारेर मङ्सिर २७ र २८ गते पशुपति क्षेत्रमा लाग्ने मेला स्थगित गरिएको कोषले जनाएको छ ।

पशुपतिमा महाशिवरात्री, साउनका सोमबार, हरितालिका (तीज), बाला चतुर्दशीलगायत पर्वमा लाखौँ भक्तजनको भीड लाग्ने गरेको छ । बाला चतुर्दशीका अवसरमा देशभरका शिवालयमा वैदिक सनातन धर्मावलम्बीले दिवङ्गत पितृका नाममा दीपदान गरी शतबीज छर्ने गर्छन् । यस दिन शिवालयमा दीपदान गरी शतबीज छरेमा दिवङ्गत पितृले पाउने विश्वास गरिन्छ ।

कोरोना महामारी बढेपछि गत वर्ष चैत ११ गतेदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर भने पुस १ गतेदेखि खुला गर्न लागिएको कोषले जनाएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर भक्तजनलाई मन्दिर प्रवेश गराई दर्शनको व्यवस्था मिलाइने कोषका सदस्यसचिव डा प्रदीप ढकालले बताए । रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.