मलाई विशेष मन पर्ने गर्छ
गरीबी र बेरोजगारी
मलाई खेल्न मज्जा लाग्छ
ती रित्ता खल्तीहरुसङ्ग
मलाई आनन्दित लाग्छ
तिम्रा छ्ट्पटीरहेको मनहरु सङ्ग
मलाई रुझ्न मन लाग्छ
वेदनामा धररर झरेको
आसुको झरनासङ्ग
मलाई चिनाउनु छ
यो बिश्वो माझ
म को हु भनेर
सायद अब
याद गर्नु भयो होला
हे प्रीय मानव हो
म हु अभाव ।
म तिम्रा जीवनको
हर पाइलाहरु सङ्गै
हिडिरहने गर्छु
तिम्रो छायामा
लुक्ने गर्छु
भान्सा, घर, स्कुल
कलेज, अस्पताल ,
अफिससम्म बस्ने गर्छु
अनि जन्म देखि
मृत्यु सम्म
किनभने याद
दिलाउनु छ मलाई
म को हु भनेर
म हु अभाव ।।
म तिम्रो मिलानसार
पारिवारमा द्वन्दको
बीउ उमार्ने गर्छु
कन्चन प्रीतका
कोपिलाहरु चुट्ने गर्छु
स्वच्छ सरिताहरुमा
विष भर्ने गर्छु
चादनी जुनको शीतलता
झै मनमा अग्निको
राप ल्याउने गर्छु
दिनलाई रात अनि
रातलाई दिन पार्ने गर्छु
म आफ्नो कार्यमा
खुब रमाउने गर्छु
किनकि
हरपल सम्झिना
गराउनु छ मलाई
म को हु भनेर
म हु अभाव ।।।
यति हुँदा हुदै पनि
कुनै पल म हार्ने गर्छु
पन्छाउन खोज्छन्
मलाई
जसोतसो उठ्छु
अनि फेरि आउने गर्छु
तिम्रो समुदाय , समाज
देश अनि पुरै ब्रह्माण्डमा
किनकि
बिश्वो डराउनु छ मलाई
म को हु भनेर
म हु अभाव ।।।।
कुशलराज मोक्तान

