जोरपाटी चोकमा भैरव अर्यालको शालिक राखिने

मंसिर ८, काठमाडौँ । नेपाली हाँस्यव्यङ्ग्य साहित्यका शिखरपुरुष भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कार वर्ष २०७६÷७७ का लागि क्रमशः रामकुमार पाँडे र राजाराम पौडेललाई प्रदान गरिएको छ।

भैरव पुरस्कार गुठीले शनिबार गोकर्णेश्वर–५ स्थित भैरव स्मृति भवनमा गरेको कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले पाँडे र पौडेललाई पुरस्कार वितरण गरेका हुन्। पुरस्कारको राशि क्रमशः एक लाख र ५० हजार रूपैयाँ रहेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख चालिसेले जोरपाटी चोकमा निर्माण गरिने नगरपालिकाको कार्यालय परिसरमा अर्यालको पूर्णकदको ढलोटको शालिक राखिने घोषणा गरे।

पुरस्कृत स्रष्टा पाँडे विदेशमा रहेकाले प्रतिनिधिको रूपमा उनको पुरस्कार ग्रहण गरेका डा यादव ढुङ्गानाले हाँस्यव्यङ्ग्य साहित्यमा पाँडेको योगदानको चर्चा गरे। वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले पुरस्कृत स्रष्टा राजाराम पौडेल नेपाली हाँस्य कला क्षेत्रका अमूल्य निधि भएको बताए। वरिष्ठ साहित्यकार विजय चालिसेले नेपाली हाँस्यव्यङ्ग्य साहित्यलाई उर्वर बनाउने काम अर्यालले गरेको स्मरण गरे। चालिसे संयोजक तथा वरिष्ठ समालोचक प्रा डा खगेन्द्र लुइँटेल र व्यङ्ग्यकार लक्ष्मण गाम्नागे सदस्य रहेको चयन समितिको आधारलाई अनुमोदन गर्दै भैरव पुरस्कार गुठीले पाँडे र पौडेललाई पुरस्कृत गर्ने निर्णय गरेको हो।

भैरव पुरस्कार गुठीका अध्यक्ष तथा वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा गुठीका सचिव वसन्त रिजालले विसं २०४६ देखि प्रत्येक दुई(दुई वर्षमा यी पुरस्कार प्रदान गरिँदै आएकामा अब आगामी वर्षबाट वर्षेनी वितरण गरिने जानकारी दिए। कार्यक्रममा स्रष्टाहरु गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’, गोपालप्रसाद बराल, विमल अर्याल, उद्धव रायमाझीलगायतले नेपाली साहित्यमा अर्यालको योगदानबारे चर्चा गरेका थिए।–रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.