समृद्धि र सुखका लागि एकताबद्ध हुन प्रधानमन्त्रीको आह्वान

मंसिर १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकताबद्ध हुन आह्वान गरेका छन् । नेपाल सम्वत् ११४१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले एकता मार्फत् नै ‘हामी समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुने बताए।

सन्देशमा उनले जननिर्मित संविधानको संस्थागत कार्यान्वयन मार्फत् मुलुकलाई विकास र समृद्धिको दिशामा अग्रसर गराइरहेका उल्लेख गर्दै सिंगो देश नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरेको बताए । प्रधानमन्त्री ओलीले सन्देशमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट बच्न विशेष सतर्कता अपनाउँदै नेपाल सम्वत् लगायत पर्व मनाउन विशेष आह्वान गरेका छन् ।

उनले बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषतायुक्त नेपाली समाज सुदृढ राष्ट्रिय एकताको जगमा उभिएको जनाउँदै यहाँका विविधतायुक्त मौलिक परम्परा सिंगो राष्ट्रका साझा पूँजीका रुपमा अङ्कित रहेको उल्लेख गरे । “ एकताको यस राष्ट्रिय पूँजीलाई हामीले मुलुक निर्माणको आधारस्तम्भका रुपमा आत्मसात् गरेका छौं,” उनले सन्देशमा भनेका छन् , “ हाम्रा सांस्कृतिक विविधतालाई विग्रह र द्वन्द्वको अवसरका रुपमा दुरुपयोग गर्न बेलाबेला भएका दुष्प्रयासहरुलाई पनि हामीले आपसी एकताद्वारा पराजित गर्दै राष्ट्रिय एकता, स्वाधीनता, स्वतन्त्रता र राष्ट्रिय अखण्डताको रक्षा गर्दै आएका छौं ।”

शंखधर साख्वाःले ऋणमा डुबेर दासत्वको जीवन बिताइरहेका सर्वसाधारणहरुलाई ऋणबाट मुक्त बनाई स्वतन्त्रता दिलाएको दिनलाई प्राचीन कालदेखि नेपाल सम्बतका रुपमा मनाइँदै आएको छ । नेपाल संवतको यस अवसरमा प्रधानमन्त्री ओलीले काठमाडौँ उपत्यकामा तत्कालीन समाज सुधारका नेतृत्वकर्ता तथा नेपाल संवतका प्रवर्तक शंखधर साख्वाःको विशेष स्मरण गरेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.