हेलम्बु गाउँपालिकाका दुई दर्जन गुम्बा अझै पुनःनिर्माण भएन

साउन १४, काठमाडौं । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षति पुगेका सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका दुई दर्जन गुम्बा अझै पुनःनिर्माण हुनसकेको छैन ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले चासो नदिएकाले लामो समय बितिसक्दा पनि गुम्बा पुनःनिर्माणको काम अघि बढ्न नसकेको उक्त गाउँपालिकाको आरोप छ । शुरुमा बौद्धदर्शन तथा गुम्बा व्यवस्था समितिले पुनःनिर्माण गर्ने भनेर सम्झौता पूरा नगरेको र प्राधिकरणले पनि कुनै चासो नदिएको गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पा बताउनुहुन्छ ।

“आफैँ बनाउ भनेको भए अहिलेसम्म गाउँलेहरुले बनाइसक्ने थिए,” शेर्पाले भन्नुभयो, “सायद पुरातत्विक महत्वको सम्पदा भएकाले हुनसक्छ, हामीलाई पनि बनाउने स्वीकृति दिएका छैनन् ।” हेलम्बु गाउँपालिका–१ मा पर्ने साविक हेलम्बु गाविस एउटै वडामा मेलाम्चे घ्याङ, तार्के घ्याङ, मिलोरेफा लगायतका दुईदर्जन भन्दा बढी चर्चित गुम्बाका साथै करिब एघार सय वर्ष पुरानो चिरी घ्याङसमेत यहाँ छ । गुम्बा र शेर्पा रहनसहन तथा ह्योल्मो संस्कृति बुझ्न तथा मनोरम दृश्यको रसास्वादन गर्ने उद्देश्यले युरोप, अमेरिका र एसियाका विभिन्न देशबाट अनुकूल याममा दैनिक डेढसयसम्म पर्यटक आउने सो ठाँउ अहिले प्रायः सुनसान छ ।

भूकम्पका कारण यहाँको भौतिक संरचना भत्केपछि पर्यटकलाई खाने बस्ने ठाउँको अभाव भएकाले पहिलेकै अवस्थामा फर्कन अझै समय लाग्ने अध्यक्ष शेर्पाको भनाइ छ । पहिले हेलम्बुको स्याउले चर्चित सो ठाउँमा रोगको रोकथाम हुन नसक्दा कयौं स्याउ किसान ऋणमा डुबेका थिए । गोल्डेन एप्पल नामको चर्चित स्याउ लगाएको केही वर्षसम्म उत्पादन दिए पनि बोट तथा हाँगामा झ्याउ लागेर क्रमिकरुपमा सुक्दै गएपछि सम्पूर्ण स्याउ किसान निराश बनेका थिए । विगत केही वर्षदेखि त्यहाँका किसानले भारतको काश्मिर तथा अन्य भागबाट आफ्नै पहलमा हतपत रोग नलाग्ने खालका स्याउका बिरुवा झिकाएर लगाएका छन् ।

लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने सो गाउँपालिकाको साविक हेलम्बु गाविसमा दुर्लभ रेडपाण्डा, कस्तुरी मृर्ग, घोरल, थारल लगायतका जनावरका साथै अमूल्य जडीबुटीको समेत भण्डार रहेको यो स्थानबाट राजधानीवासीको प्यास मेटाउने मेलम्ची खानेपानीको मुहानस्थल पनि छ । सो गाउँपालिकामा भूकम्पपीडितले हाल निजी आवास पुनःनिर्माण गरिरहेका छन् । – रासस

Satkar Media House
Leave A Reply

Your email address will not be published.