प्रचण्डको ब्रिफिङः ‘प्रधानमन्त्रीले पार्टी फुटाउँछु भन्नुभयो’

कात्तिक १६, काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीले अलग अलग पार्टी बनाउने प्रस्ताव गरेको बताएका छन् । आफ्नै निवास खुमलटारमा बहुमत सचिवालय सदस्यको भेलामा प्रचण्डले शनिबारको भेटमा प्रधानमन्त्री ओलीले ‘पार्टी फुटाउँछु’ भनेको ब्रिफिङ गरेका हुन् ।

आइतबार बिहान पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापासहितको बैठकमा यस्तो बताएका हुन् । ९ सदस्यीय सचिवालयमा मध्ये बहुमत ६ जना सचिवालय सदस्यको बैठक खुमलटारमा बसेको थियो । खुमलटारको भेलामा प्रचण्डले प्रधानमन्त्रीले पार्टी फुटाउने तयारी गरेको एक सचिवालय सदस्यले नयाँ पेजलाई बताए । प्रचण्डलाई उधृत गर्दै ती सदस्यले भने, ‘प्रधानमन्त्रीले अलगअलग जाऊँ भन्नुभयो । पार्टी र स्थायी कमिटी बैठकको निर्णय म मान्दिनँ भन्नुभयो।’

प्रधानमन्त्रीले सचिवालयको बैठक पनि नबोलाउने अडान लिएको प्रचण्डको ब्रिफिङ्ग थियो । भनेका थिए, ‘प्रधानमन्त्रीले सचिवालय बैठक पनि बोलाउदिनँ, तपाईंहरुले जुनसुकै कमिटीको बैठक बोलाएर बुहमतले निर्णय गरे पनि त्यसलाई मान्दिनँ । कुनै कदम चाल्नुभयो भने त्योभन्दा ठूलो कदम म चाल्छु । एकै ठाँउ बस्न सकिन्नँ भने अलग– अलग जाऔँ । मलाई कुनै समस्या छैन भन्नुभएको छ ।’ प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच हिजो दिउँसो सवा १ बजे बालुवाटारमा भेटवार्ता भएको थियो । छलफल तित्ततापूर्ण भएपछि प्रचण्डले आइतबार सचिवालय सदस्यहरुलाई बोलाएका थिए । प्रचण्डको ब्रिफिङ सुनेपछि जवाफमा नेताहरुले पार्टी विभाजन गर्न नहुने जोड दिएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.