कात्तिक १६, काठमाडौँ । पहिचानमा आधारित संघीय गठबन्धनले संघीयता संस्थागत गर्न संविधानको धारा २७४ लगायत सम्पूर्ण पहिचानविरोधी धारा÷उपधाराहरु र अनुसुची ४ संशोधन गर्नुपर्ने माग राखेको छ । गठबन्धनले सरकारलाई एक महिनाको अल्टिमेटम दिएको छ । त्यसबेलासम्मपनि माग पूरा नगरे देशव्यापी सशक्त आन्दोलन गर्ने गठबन्धनको चेतावनी छ ।
आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर गठबन्धनले विभिन्न ५ बुँदे माग अघि सारेको हो । उसले अघि सारेका मागहरुमा थरुहट आन्दोलनका क्रममा टीकापुर घटनापश्चात् षड्यन्त्रपूर्वक विभिन्न अभियोगमा झुठा मुद्दा लगाइ फसाईएका थरुहट राजबन्दीहरू कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीलगायत थरुहट असान्दोलनकारी सबैको झुठा मुद्दालाई सरकारले मुद्दा फिर्ता, खारेजी गरी बन्दीहरूलाई निःसर्त रिहाइ गर्नुपर्ने, अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धी (आई.एल.ओ.–१६९), आदिवासी जनजातिहरूको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र–२००७ ले प्रदत्त गरेका हक अधिकारको प्रभावकारी कार्यान्वयनसहित आदिवासी जनजातिहरुको परम्परागत कानुनी मूूल्य मान्यता दिनुपर्ने, कोरोनाबाट प्रभावित जनताहरुको उचित स्वास्थ्य जाँच निःशुल्क रुपमा गर्नुपर्ने र सरकारले व्यापक रूपमा गर्दै आइरहेको संस्थागत भ्रस्चाचारहरुलाई तत्काल बन्द गर्नुपर्ने तथा जनताको जीवन निर्वाहलाई ध्यानमा राखि कोरोना प्रभावितहरुलाई क्षतिपूर्तीसहितको आर्थिक सहयोग गर्नुपर्ने रहेका छन् ।
गठबन्धनले यी मागहरुको तत्काल संम्वोधन गर्न सरकारलाइ एक महिनाको अल्टिमेटम दिएको छ । गठबन्धनले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘यदि हाम्रा यी जायज मागहरुलाई बेवास्ता गरे, कोरोनाको कहरबीच पनि जनताको अधिकार सुनिश्चितका लागि हामी मंसीर २० गते काठमाण्डौंमा एक वृहत कोणसभा गर्दै आन्दोलनको वृहत तयारीका साथ कार्यक्रमहरुको तिथि÷मिति सहित जनतामा जाने छौं ।’
कार्यक्रममा बोल्दै खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष आर.के. खम्बुले गठबन्धनले अघि सारेका मागका बारेमा प्रकाश पारेका थिए । र, उनले सरकारले आफूहरुको माग सम्बोधन नगरे देशव्यापी रुपमा सशक्त आन्दोलन चर्काउने चेतावनी दिए । उनले आफूहरु अधिकार प्राप्तिको लागि आन्दोलनकै मोर्चामा रहेको पनि जनाए ।
त्यस्तै, थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले पनि गठबन्धनले अघि सारेका जायज मागप्रति सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका थिए । यदि सरकारले गठबन्धनको माग सम्बोधन नगरे देशव्यापी रुपमा सशक्त आन्दोलन गरिने उनको भनाई छ । र, उक्त आन्दोलनमा सम्पूर्ण पहिचानवादी र उत्पीडनमा परेकाहरुले सहयोग गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमको सभापतित्वमा नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष डा. विजय सैंजुले गरेका थिए । प्रेस वक्तव्य वाचन मगरात संघर्ष समितिका संयोजक राम मगरले गरेका थिए भने थरुहट थारुवान राष्ट्रिय मोर्चाका महासचिव तुलसी थारुले कार्यक्रमको सञ्चालन गरेका थिए ।

