तिहार एक महिना धकेलिएसँगै फूल बजार प्रभावित

कात्तिक १४, काठमाडौं । यस वर्षको तिहार अधिकमासका कारण झन्डै एक महिनापछाडि धकेलिएको छ । तिहारमा सयपत्री तथा मखमली फूलको मालाको खपत हुने गर्छ ।

यस वर्ष तिहारअगाडि नै सयपत्री फूल फुलिसक्ने भएकाले मागअनुसार आपूर्ति हुननसक्दा बजार प्रभावित हुने देखिएको छ । तर व्यवसायीहरुले भने तिहारमा स्वदेशी उत्पादनले नै फूलको माग धान्‍ने दाबी गर्दै आएका छन् । अधिकमासका कारण यस वर्षको तिहार झन्डै एक महिनापछाडि धकेलिएको छ । त्यसैले यसपटक तिहारमा फूलको बजार प्रभावित हुने अनुमान गरिएको छ । किसानहरुले लगाएको सयपत्री फूल फुल्ने समयभन्दा पछाडि तिहार परेकाले फूलको बजारमा असर पर्ने आकलन गरिएको हो ।

पुष्प व्यवसायीहरु भने क्यालेन्डरका आधारमा फूल खेती गरिएकाले नेपाली उत्पादनले नै यस वर्षको मागलाई सहजै धान्‍ने बताउँछन् । फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अध्यक्ष कुमार कसजू श्रेष्ठले अधिकमासका कारण यसपटकको तिहार २०र२२ दिन पछाडि धकेलिए पनि फूलको बजारलाई कुनै असर नपर्ने बताए । घरेलु किसानले उत्पादन गरेको फूल तिहारअगाडि नै सुकेर जाने भए पनि व्यावसायिक रुपमा गरिएको फूलको उत्पादन निरन्तर चलिरहेकाले तिहारको मागलाई सजिलै धान्‍ने उनले बताए ।

गत वर्षको तिहारमा २५ लाख माला खपत भएको थियो । जसमध्ये मखमली माला पाँच लाख र सयपत्री माला २० लाख थियो । यो वर्ष भने कोभिड संक्रमणको जोखिमका कारण फूलको माग कम हुने आकलन गरिएको पनि अध्यक्ष कसजूले बताए । यस वर्ष १२ देखि १५ लाख मालाको माग हुने अनुमान गरिएको र सबै मालाको आपूर्ति स्वदेशी उत्पादनबाट हुने उनको भनाइ छ ।

खेर जाँदै सयपत्री फूल
यस वर्ष फूलको मूल्य भने केही महँगो पर्ने भएको छ । अध्यक्ष कसजूका अनुसार सयपत्री फूलको एउटा मालाको मूल्य ६० देखि ७० रुपैयाँसम्म पर्न सक्नेछ । गत वर्ष सयपत्री फूलको एउटा मालाको मूल्य ५० देखि ६० रुपैयाँ परेको थियो ।

पुष्प व्यवसायी श्यामसुन्दर प्रजापतिले भने तिहारका लागि लगाइएको सयपत्री फूल फूलिसकेको बताए । केही फूल तिहारसम्म काम नलाग्‍ने गरी सुकिसकेको पनि उनले बताए । चिसो बढ्दै जाँदा फूल झाँगिन नसक्ने र फुलेको फूलसमेत सुक्ने भएकाले तिहारसम्म सयपत्री जोगाइराख्‍न समस्या भएको उनले बताए ।

तिहारपछाडि भए पनि नेपालमा उत्पादित फूलले बजारको मागलाई धान्‍ने भएकाले बाहिरी मुलुकबाट फूल आयात गर्न नहुने व्यवसायीहरुको भनाइ छ । अन्य मुलुकबाट नआउँदा आन्तरिक फूलको मूल्य बढ्छ भन्‍ने बुझाइले गर्दा आत्मनिर्भर भइसकेको अवस्थामा पनि फूल आयात हुने गरेको व्यवसायीहरुले गुनासो गरेका छन् । गत वर्षको तिहारमा करिब १० लाख फूलका माला भारतबाट आयात भएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.