हरेक चाडपर्व समाजको आवश्यकताअनुसार मनाइएका हुन्छन् । हामी चाडपर्वमा धर्मको लेप लगाएर तिनलाई सोहीअनुसार व्याख्या गर्छौँ र त्यसको सामाजिक सांस्कृतिक पक्ष बिर्सन्छौँ । दशैँमा लगाइने जमरा, अन्न वा दही अक्षताको टीका, पूजाआजा र खानपिनलाई हेर्दा दशैँ कृषि सभ्यताको उपज देखिन्छ । यसलाई समाजशास्त्रीय संस्कृति शास्त्रीय र धार्मिक दृष्टिले पनि र वैज्ञानिक दृष्टिले पनि व्याख्या गर्ने ठाउँ प्रशस्तै छन् ।
जमराका दृष्टिले हेर्ने हो भने दशैँ कृषिसभ्यताको उपज हो । जमराको मूल अर्थ जौको अड्कुरणबाट विकास भएको देखिन्छ । हामीले कृषि युगको इतिहास हेर्यौँ भने जौ भनेको पहिलोपटक खेती गरिएको अन्नबाली हो। यसको चर्चा पुराणकालदेखि भएको पाइन्छ । पौराणिक ग्रन्थहरु तिलजौबाहेकका आधुनिक अन्नबालीसँग परिचित देखिँदैनन् । सम्भवतः मानवले खाद्यान्नको स्रोत भेटिएको खुसीमा जौको पात वा जरा शिरमा लगाएर आदर गर्ने र कृतज्ञता प्रकट गर्ने अभ्यास गर्यो होला । त्यसैको टीका लगाएर उत्सव पनि मनायो होला ।
जौका दृष्टिले हेर्दा हामीसँग भएको चैते दशैँको समय जौ पाक्ने समय हो । त्यो समयमा पहिले पहिले दशैँ मानियो होला । चैतको मौसम अनुकूल नहुँदा चैतमा छोटोा छरितो रुपमा र शरदकालमा यसलाई अलि व्यापक रुपमा मनाउन थालियो होला । जौबाट मात्र पनि दशैँलाई खोजी गर्दा जौ हिमाल, पहाड, तराई जहाँ पनि उमार्न र फलाउन सकिने खाद्यान्न हो । यसकारण यो पर्व सबैतिर पुगेको र साझा भएको हुन सक्छ । पछि मानिसले उपलब्ध खान मिल्ने बसै अन्नलाई जमराका रुप्मा प्रयोग गर्न थालेको हो भन्नु स्वाभाविकै देखिन्छ । आजको जमरामा लामो सुइरा भएर पात आउने प्रकृतिका धान, मकै, गहुँ, जौलगायतका अन्नहरु प्रयोग गरिन्छ । यसमा दलहन र तेलहनको प्रयोग पाइँदैन ।

जौ वा जमरामा प्रयाप्त मात्रामा औषधीय गुण पनि हुन्छ । कुनै मान्यजन, गुरु वा अग्रजले यसको औषधीय गुण पत्तो लगाएर आशीर्वादसहित शिरमा लगाइदिने गरेको हुन सक्छ । यसको माला लगाउने प्रचलनमा पनि यसैको प्रभाव हुन सक्छ । नियमतः जमराले जरा हालेको हुनुहुँदैन, साथै प्रकाशको सम्पर्कमा आउनु हुँदैन, पहेलो हुनुपर्छ हरियो हुनुहुँदैन । हामीले राखेको दश दिने जमरामा वैज्ञानिक आयुर्वैदिक दृष्टिले औषधीय गुण भरपुर मात्रामा हुने विश्वास गरिन्छ। आयुर्वेदमा जौलाई विशेष औषधि मानिएको छ । जमराको जुस सेवन गर्दा रगतमा हेमोग्लोबिनको मात्रा बढ्ने विभिन्न अनुसन्धानबाट प्रमाणित भएको छ । छाला, कलेजो, रगतसम्बन्धी समस्या, ज्वरो, रक्तचाप, घाउ, चोटपटकलगायत स्वास्थ्य समस्यामा जमराको जुसलाई औषधिका रूपमा प्रयोग गरिन्छ ।जमरामा शरीरलाई आवश्यक खनिज पदार्थ, भिटामिन, प्रोटिन, एमिनो एसिडजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छ । जमरामा प्रशस्त क्लोरोफिल हुने भएकाले एन्टिअक्सिडेन्टको गुण पनि पाइन्छ, जसले कोषलाई छिटो बुढो हुनबाट बचाउँछ र शरीर तन्दुरुस्त राख्न मद्दत गर्छ । शरीरबाट विषाक्त पदार्थ हटाउन, रगतमा चिनीको मात्रा सन्तुलनमा राख्न, दाँत र कपाल स्वस्थ राख्न, पाचन प्रक्रिया सहज बनाउन र रक्तचाप सन्तुलनमा राख्न जमराको जुस लाभदायी मानिन्छ ।घाम वा प्रकाशको सम्पर्कमा आएको बिरुवाका हकमा यो मान्यता लागू नहुन सक्छ। धेरै दिन पुरानो र प्रकाशको सम्पर्कमा आइसकेपछिको जमरामा भने औषधीय गुण क्रमशः कम हुँदै जान्छ भन्ने विश्वास गरिन्छ । पछिल्लो समय जौको महत्वका विषयमा अनेक औषधीय गुणका विषयमा हामी प्रायः सबै परिचित छौँ ।
टीकाको र त्यसमा पनि अन्नको टीकाको आफ्नै महत्व छ । निधारमा टीका लगाउनु, हातका औलाले निधारमा छुनु, वनस्पति, खरानी वा माटोको चन्दन आदिको टीका लगाउनुसँग औषधीय र मनोवैज्ञानिक पक्षहरु पत्तो लाग्दै आएका छन् । त्यसमा दही अक्षताको टीकाको आफ्नै अर्थ छ र यो कृषिव्यसनी समुदायले विकास गरेको घरेलु औषधीय र सांस्कृतिक पक्ष पनि हो भनेर बुझ्नु सान्दर्भिक हुन्छ ।
हाम्रो समाज व्यवस्थाअनुसार हेर्यो र हाम्रा चाडपर्व हेर्यो भने जनैपूर्णिमा वा ऋषिपञ्चमी ब्राह्मण जातिका परम्परा र संस्कृति निकट देखिन्छन् । दसैँ (चैते र विशेषतः विजयादशमी) क्षत्री जातिको पर्वका रुपमा देखिन्छ । यसका बलिपूजा आदिका विधिविधिान यस जाति निकट देखिन्छन् । तिहार (विशेषतः लक्ष्मीपूजा) लगायतका पर्वहरु वैश्य जातिका परम्परा र संस्कृतिका निकट देखिन्छन् । फागुपूर्णिमा वा होलीलगायतका पर्वहरु मोटामोटी शूद्र जातिका पर्वका रुपमा देखिन्छन् । जात्रामुखी पर्वहरु गाईजात्रालगायत नेवार जातिका पर्व जस्ता लाग्छन् । यो यी पर्वबारे गर्न सकिने छुट्टै विमर्शको संकेत मात्र हो । नेपाली सन्दर्भमा तीज नारीहरूको पर्व, तिहार दाजुभाइ दिदीबहिनीको पर्व, दशैँ वृद्धवृद्धालाई भेट्ने हुँदा वृद्धवृद्धाको पर्व आदिका रुपा पनि देखिन्छ । यो सांस्कृतिक पाटो पनि छँदै छ । यहाँ भने दशैँलाई कृषिसँगै जोडेर हेर्न खोजिएको छ ।

हाम्रो साझा बुझाइमा दशैँ दुर्गा र महिषासुरको कथामा मात्र सीमित छ । भारतीय मूलका हिन्दूहरुले यसलाई रामकथासँग जोडेका छन् र चैते दशैँलाई महत्व दिएका छन् । यी मिथकबाट सांस्कृतिक, सभ्यताको विकास यात्रा आदिका कोणबाट हेर्ने हो भने दशैँ श्रमजीवी किसानहरुको कृषि सभ्यतासँग परम्परादेखि जोडिएको देखिन्छ । कृषकहरुले यसलाई सुरुमा चैतमा मनाउने र त्यस बेला अन्नअभाव हुने भएकाले शरदकालीन मौसममा भव्य रुपमा र चैतमा सामान्य रुपमा मनाउने गरी यसलाई निरन्तरता दिएको अनुमान लगाउन सकिन्छ । कृषी पूजामा देव भन्दा देवीको भूमिका बढी देखिन्छ । कृषिकर्ममा नारी बढी सहभागी हुने भएर हो वा के हामीले परम्परागत खेती गर्ने पहाडी भूभागका ठुला फाँटका छेउमा कतै न कतै देवीथान देख्छौँ । अलि ठुलो खेती हुने कृषकका आआफ्ना बारीका छेउका गुफाहरुमा देवीथान देख्छौँ । नजिकैको नदीलाई पनि देवीकै रुपमा पूजा गरेको पाउँछौँ । धान रोप्ता धानको बिउ पनि चढाएर रोपाइँ गर्न सुरु गरेको पाउँछौँ । मकै छर्न जाँदा बिउ देवीलाई चढाएर मात्र छरेको र सुइरा उम्रिनासाथ लगेर चढाएको देख्छौ । फलेको अन्न देवीथानमा र नजिकैको नदी, जलासय, मन्दिर आदिमा चढाएर र त्यही अन्नको टीका लगाएर मात्र खाने गरको पाउँछौँ । अन्न मात्र होइन बारीमा फलको काँक्रा, स्याउ, सुन्तला, नरिवल, सुपारी आदि पाकेपछि पहिलो पाकेको फल धर्ती, जल, देवीथान, कुलथान आदिमा चढाएर खाएको र त्यसैलाई प्रसाद मानेर र पवित्र वस्तु मानेर टीका लगाएको देख्छौँ । दशैँको टीकामा अन्नको प्रयोग गरिनुमा यही कृषि सभ्यताको प्रभाव छ ।
चैतमा दशैँ मान्ने बेलामा जौ गहुँ आदि पाक्नु र असोज वा शरदकालमा धान पाक्नु र त्यसैको टीका प्रयोग हुनुसँग कृषि पर्वका रुपमा यस पर्वलाई बुझ्न आवश्यक छ । हामीले हाम्रा दशैँलगायतका चाडपर्वलाई मिथकसँगै हाम्रो सभ्यता विकासका चरणका घटना र गतिविधिको सिलो गरेर हेर्यौँ भने पूर्वीय आध्यात्मिक एवम् भौतिकवादी दर्शनका सारहरुलाई पनि साक्ष्य बनाउन सक्यौँ भने हरेक पर्व र संस्कृतिहरु वैज्ञानिक लाग्छन् । दशैँ कृषि सभ्यताको पर्वका रुपमा देखापर्छ । यसको बलीप्रथासँग पनि कृषि सभ्यता नै जोडिएको छ । आफूले पालेको पशु पनि देवीलाई अर्पण गरेपछि त्यसको रक्षा देवीले नै गर्छिन् भन्ने अर्थमा भेडा, बाख्रा, च्याङ्ग्रा पाल्दा गुठीभेडो, गुठी बाख्रो, गुठी च्याङ्ग्रो पाल्ने चलन छ । पन्छी पालनमा पनि यो परम्परा छ । हाँस, कुखुरा आदिमध्ये एउटा देवी वा देउताको भनेर पालेपछि उनैले सबैको रक्षा गर्छन् भन्ने विश्वास छ । पूर्वीय मातृपरम्परामा कृषि अर्थब्यवस्था नै स्त्रीचिन्तन र कर्ममा आधारित रहेको देखिन्छ । पशुहरु देवीलाई चढाउँदा पनि माउ चढाउने र उसको कुनै सन्तान बलीदिने परम्परा रहेको बुझिन्छ । पशुपन्छीको पाठी वा पोथी बलीदिँदा बोट मासिने आधारमा बोका, भाले आदि बलिदिने गरेको पाइन्छ यस्तोक कृषिसभ्यतासँग मेल खाने, नारी पोथी जातिको संरक्षण र पूजनसँग मेल खाने अनेक पक्ष यी परम्परासँग जोडिएका छन् ।
यो सांस्कृतिक इतिहाससँग सिन्धु घाटी,बलुचिस्तानदेखि एसिया माइनर हुँदै सिरिया, मेसोपोटामिया,साइप्रसलगायत प्राचीन सभ्यताका मातृसत्तात्मक ब्यवस्था पनि यस पर्वका अभिप्रेरक देखिन्छन् । यी सभ्यतामा मातृदेवी र महामाताका अनेक लोकायत साक्षी छन् । देवी पूजन र यो समाज विकासको मातृसत्तात्मक परम्पराको पनि प्रत्यक्ष अप्रत्यक्ष अन्वेषण गर्न सकिने अवस्था दशैँ पर्वमा गर्भित छ । कृषि सभ्यताका विकासमा प्रारम्भिक कृषिकर्म र तीसँग जोडिने धार्मिक अनुष्ठानमा तन्त्रको कस्तो भूमिका रहन्थ्यो भन्ने विषयमा पनि हामी लोकसंस्कृति र परम्परालाई आधार मानेर अनेक तथ्य जुटाउन सक्छौँ । दुर्गापूजाको मूल स्रोत पनि कृषिकर्मसँग अभिन्न रुपले सम्बद्ध प्राचीन तन्त्रवादका निकट पनि देखिन्छ । हामीले हाम्रो शिक्षा र चिन्तनलाई कि धर्म कि विज्ञानका भरमा छोडिदियौँ त्यसबिचमा लोकसंस्कृतिले दुवैलाई जोडेर हिँडिरहेको हुन्छ भन्ने बिर्सियौँ । सिन्धु क्षेत्रको उत्खनन्का क्रममा प्राप्त चित्र र प्रतिमाले नारी सत्ताका प्रमाण दिएको पक्ष धेरै संस्कृतिविद्ले उजागर गरिसकेका छन् । इतिहासकारहरुले पनि चर्चा गरिरहेका छन् । अहिले पनि गाउँभरिका मानिसले एकै ठाउँमा जमरा राखेर बाँडेर लिने प्रचलनर्ला हेर्दा यसका पछाडि प्राचीन कृषिजन्य सामूहिक अनुष्ठानको प्रभाव छँदैछ भन्न सकिन्छ ।
हामीले समग्र एसीया उपमहाद्वीपमा कृषिसंस्कृति निर्माण गर्ने मातृदेवीहरु र तिनले संरक्षण गरेको सभ्यताको सम्मान गर्ने भौतिकवादी तर्कसम्म चर्चा गर्न सक्छौँ । यता महिला वर्गको शक्तिलाई स्वीकार र सम्मान गर्दै हजारौं वर्षदेखि मानिआएको शक्तिको पर्वका कोणबाट नारी शक्तिको अन्वेषष र पहिचानका अवसरहरु पनि हामीलाई प्राप्त छन् । दशैँ हिन्दूहरुले मनाउँदै आए पनि यसमा अन्य धर्मावलम्बीको पनि सहभागिता रहन्छ र छ भन्ने समाजशास्त्रीय पक्ष पनि दशैँसँग जोडिएर आएको छ ।
दशैँ पर्वका सांस्कृतिक पक्षसँग कृषि सभ्यता नै बढी जोडिएर आउँछ । अन्नको टीका अन्नप्रतिको आदर र सद्भावका रुपमा लिनुपर्छ । अन्नको टीका सबै जातजातिमा लगाउने चलन छ । रातो र सेतो अबिरको विकासपछि कोरिएको सीमा मात्र हो रातो टीका र जमरा हाम्रो संस्कृतिको शान हो । ‘तिहारमा पनि दसैँको जमराको धुलो बनाएर टीका लगाएमा शुभ हुने विश्वास छ । दशैँमा मात्र होइन टीकाका सन्दर्भमा अन्न र वनस्पतिको प्रयोग जतासुकै छ । शृखण्ड, पारिजात, रक्तचन्दन आदिको टीकासँगै तील, जौ, चामल र यी वस्तुहरु हवन गरिएको खरानीको पनि तिलक लाउने प्रचलन छ । यी प्रचलनले कृषिसम्भयतालाई नै बुझाउँछन् ।
दशैँलाई रामथा र देवीस्तुतिसँग मात्र जोडेर नहेरुँ । यस पर्वलाई आम नेपालीले वर्षभरिको थकान विर्सने रमाइलो पर्वका रुपमा कुनै न कुनै रुपमा मानिरहेका छन् । खानपान र मनोरञ्जनमा किराँत र अन्य धर्मावलम्बीले हिन्दूलाई उछिनिरहेका छन् । यसका केही विकृत पक्ष भए तिनमा बहस गरुँ । दशैँलाई नेपाली जातिको साझा पर्वका रुपमा मानौँ र सबैसँग शुभकामना आदान प्रदान गरुँ । यो हिमाल, पहाड र तराईको साझा पर्व हो । यस पर्वसँग हाम्रो घरको र समाजको सरसभाई, भेटघाट, शुभकामना आदानप्रदान, पारिवारिक सम्बन्ध विकास, मिठोमसिनो खानपान, नयाँ पोसाक धेरै पक्ष जोडिएका छन् । पिड अदि सांस्कृतिक खेल, मालसिरी, लामलीला, देवीगाथा जस्ता लोकसात्यिक सांस्कृतिक सम्पदा पनि संरक्षित छन् । दशैँ, दशेरा, दशहरा, बडादशैँ, जे भने पनि यो नेपाली जातिको र विश्वमा फैलिएका नेपाली महाजातिको साझा पर्व हो । यसको विकास हाम्रै कृषिव्यसनी पूर्खाले गरेका हुन् । सबैमा दशैँको शुभकामना ।
रमेश शुभेच्छु
वानेश्वर बहुमुखी क्याम्पस, काठमाडौँ ।

