कात्तिक १, सिन्धुपाल्चोक । रोग लागेर दुवै खुट्टा गुमाएका सिन्धुपाल्चोकका निमा लामा मुखैमा आएको बडादसैंमा परिवारको छाक कसरी टार्ने भन्ने चिन्तामा थिए । केही युवाले राहत ल्याइदिने खबर सुनाएपछि खुशीले दुई दिनदेखि उहाँलाई निद्रा परेको थिएन ।
शनिबार राहत लिने दिन भएकाले उनी काठमाडौंको चुच्चेपाटीमा अपराह्न २ बज्नुअघि नै ह्वीलचियर गुडाउँदै आइपुगे । उनलाई नेपाल प्रहरीको एउटा समूहले एक पोका राहत उपलब्ध गरायो । त्यसमा थियो १० किलो चामल, आधा लिटर तेल, एकएक किलाको दरमा दाल, चना, नुन र मसला तथा साबुन । राहत पाउँदा उनको मुहारमा खुशीको चमक देखियो । “थोरै नै भए पनि सहयोग दिनु ठूलो हो, (अन्यलाई औँल्याउँदै) यतिका धेरै मानिसलाई राहत दिइएको छ, खुशी नै छु”, लामाले भने । काठमाडौंमा बसेको निकै वर्ष भए पनि कोरोनाकालमा बेहोरेको सकस उहाँलाई कहिल्यै नमेटिने छाप बनेको छ । कठिनाइ अझै हटिसकेको छैन । उनी कुनै बेला खाना वितरण गरेका ठाउँमा पुगेर भात खान्छन्, कतै राहत दिएको चाल पाए त्यहीँ पुग्छन् । दैनिकी यसैगरी बितिरहेका बेला निकैपछि घटस्थापनाको दिन आज एक पोका राहत पाउँदा उनी निकै खुशी भए ।
लामासँगै सेतो लौरो टेकेर धेरै न्यूनदृष्टियुक्तहरु चाबहिल जोरपाटी सडकपेटीमा लामबद्ध थिए । लस्करै बसेका उनीहरुका अगाडि नेपाल प्रहरीले राहतका पोका राखिदियो । छामछुम गर्दै सबैले आआफ्नो पोका सम्हाले । आपसमा कानेखुशी गर्दै एक जनाले भने, “राहत त थोरैथोरै पो छ ।” “थोरैै भए पनि दिएको छ, चित्त बुझाऊ न”, अर्काबाट जवाफ आयो ।
न्यूनदृष्टियुक्त अमर ओलीले दसैंका मुखमा राहत पाएकामा खुशी व्यक्त गरे । “खै कुन संस्थाले दियो थाहा भएन, तपाईँ पत्रकार हुनुहुँदो रहेछ, त्यो संस्थालाई धन्यवाद सुनाइदिनू”, उनले भने । सुर्खेतका ओलीको विसं २०६० मा दुवै आँखा बन्द भएको थियो । शल्यक्रियापछि एउटा आँखाले घुर्मैलो देख्न थाल्दा केही खुसी थपियो । अहिले विस्तारै त्यही आँखो कमजोर हुँदै जाँदा उनी चिन्तित छन् ।
ओली सडकमा दैनिक गीत गाएर परिवारको गुजारा चलाउनुहुन्छ । कोरोनाकालमा गीत गाउन पनि गाह्रो भइरहेको उनी सुनाउछन् । पाँच महिनाको कोठाभाडासमेत तिर्न नसकेको अनुभव उनीसँग छ । त्यो ऋण अझै तिर्न सकिएको छैन । उनी आज प्राप्त खाद्य सहयोगले दसैंका मुखमा केही राहत मिलेको बताउछन् ।
उनीसँगै राहत प्राप्त गर्नुभएका अर्का न्यूनदृष्टियुक्त दिवस विष्टले केही दिनलाई छाक टार्न समस्या नपर्ने बताए । उनी पनि सडकमा गीत गाएरै परिवार पाल्ने गर्छन् । समयमै आँखाको उपचार नहुँदा दृष्टि गुमाएका जुम्लाका विष्ट एकार्कामा सूचना प्राप्त भएकाले राहत लिन नारायणटारबाट चुच्चेपाटी आएको बताउछन् । उनी भन्छन्, “गोकर्णेश्वर नगरपालिकाले पाँच किलो चामल दिएको थियो, अहिले १० किलो पाउनु ठूलो राहत हो ।” यसअघि बन्दाबन्दीका समयमा वितरण भएको राहत पाउनुपर्ने व्यक्तिले भने नपाएको गुनासो उनको छ ।
नेपालीको महान् चाड सुरु भएको पहिलो दिन आज झण्डै १०० असख्क्त अपाङ्ग र दृष्टिविहिनले राहत पाएका छन् । ठुलो राहत नभए पनि सम्झेकोमा उनीहरु खुसी छन् । उक्त राहत विभिन्न बैँकसँगको सहकार्यमा महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलका पहलमा वितरण गरिएको हो । “हामीकहाँ राहत चाहियो, दसैंमा भोकभोकै हुने भयौँ भनेर धेरै अनुरोध आयो”, पोखरेलले भने, “त्यसैले इच्छुक बैंकसँगको सहकार्यमा विपन्न परिवारलाई राहत पुर्याएका हौँ ।”
दसैंको मुखमा ५०० विपन्न र अशक्त परिवारलाई राहत दिने योजना रहेको उनले जानकारी दिए । आज पहिलो दिन चुच्चेपाटी र बौद्धका १०० जनालाई राहत उपलब्ध गराइएको छ । राहत लिन आउनेमा न्यूनदृष्टियुक्त, अशक्त, असहाय र अपाङ्गता भएका व्यक्ति थिए । प्रहरीले आफैं बौद्धसम्म पुगेर राहत वितरण गरेको महानगरीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । उनकै नेतृत्वमा स्थानीय युवाको सहयोगमा राहत पुर्याइएको थियो ।
स्थानीय युवा र प्रहरीले नामावली संकलन गरेर छाक टार्न धौधौ भएका अशक्त र अपाङ्गता भएकाहरुको पहिचान गरी दसैं राहत दिइएको हो । आगामी केही दिन विभिन्न ठाउँमा पुगेर पहिचान भएका त्यस्ता ५०० जनालाई राहत उपलब्ध गराउने योजना रहेको पोखरेलले सुनाए । यसअघि पोखरेलकै नेतृत्वमा बन्दाबन्दीका समयमा झण्डै छ हजार परिवारलाई यसैगरी राहत उपलब्ध गराइएको थियो । खाने अन्नसमेत नभएर भोकभोकै बस्न बाध्य भएको भनी गुनासो आउन थालेपछि बन्दाबन्दीका समयमा राहत बाँडिएको उनले जानकारी दिए । – रासस

