घरभित्रै दसैं मनाउन प्रशासनको अनुरोध

असोज २८, चितवन । कोरोना सङ्क्रमण बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लावासीलाई यस वर्ष घरभित्रै बसेर दसैं, तिहारलगायत चाडपर्व मनाउन आग्रह गरेको छ ।

प्रशासनले अनावश्यक हिँडडुल नगर्न, भेला जमघटका कार्यक्रममा सहभागी नहुन र स्वास्थ्यसम्बन्धी सुरक्षा मापदण्ड पूर्णरूपमा पालना गर्न अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीद्वारा जारी सूचनामा जिल्लावासीलाई १४ बुँदे सुझाव दिइएको छ । जिल्लामा कोभिड(१९ सङ्क्रमितको सङ्ख्या दुई हजार ७६४ नाघेको सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ९७ पुगेको भन्दै अत्यन्तै सावधानी अपनाउन अनुरोध गरिएको छ । धार्मिकस्थलमा धर्म परम्परालाई निरन्तरता दिई नित्य पूजाअर्चना मात्र गर्न, दसैंमा फूलपाती भित्र्याउने काम सांकेतिक रूपमा गर्न, खेलकुदका कार्यक्रम, जात्रा, मेला तथा उत्सव नगर्न प्रशासनको आग्रह छ । अवैध मदिरा उत्पादन, बिक्री वितरण तथा उपभोग नगर्न, मादक पदार्थ सेवन गरी होहल्ला नगर्न, तीव्र गतिमा सवारीसाधन नचलाउन, गुणस्तरहीन उपभोग्य वस्तु बिक्री(वितरण नगर्न, कृत्रिम अभाव सिर्जना गरी कालोबजारी नगर्न, जुवातास र गैरकानुनी चिठ्ठा कार्यक्रम नगर्न र त्यस्ता कार्यक्रममा सहभागी नहुन पनि अनुरोध गरिएको छ ।

यस्तै दसैं, तिहार तथा छठपर्वको अवसरमा शुभकामना आदानप्रदान, देउसी(भैलोलगायत कुनै पनि कार्यक्रम नगर्न सूचनामा अनुरोध गरिएको छ । यस्तै पटका, आतिसबाजीलगायत विष्फोटक वस्तु प्रयोग नगर्न, ध्वनि प्रदूषण, चन्दा सङ्‍कलन नगरी आपसी सद्‍भाव कायम गर्न सम्पूर्ण जिल्लावासीलाई अनुरोध गरिएको छ । प्रशासनले १२ वर्षभन्दा कमका बालबालिका र ६० वर्षमाथिका वृद्धवृद्धा तथा जटिल प्रकारका स्वास्थ्य समस्या भएका मानिसलाई घर बाहिर हिँडडुल नगर्न हिँड्नै परे सम्पूर्ण सुरक्षाको मापदण्ड अपनाउन अनुरोध गरेको छ । – रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.