साउन १३, काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले कञ्चनपुरमा निर्मला पन्तको बलात्कार गरी हत्या भएको विषयमा सदनलाई यथार्थ जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समय र विशेष समयमा बोल्ने अधिकांश सांसदहरुले कञ्चनपुर घटनालाई लिएर सरकारको चर्को आलोचना गरेका थिए । महिला हिंसामा शून्य सहनशिलताको कुरा गर्ने तर घटनाको तत्काल सम्बोधन गरी सरकारको उपस्थिति जनाउने बताउँदै आएको सरकारले घटनाको ४ दिनसम्म पनि दोषीलाई नियन्त्रणमा लिन नसकेको भन्दै सांसदहरुले आक्रोश पोखेका थिए । शून्य र विशेष समय नै कञ्चनपुरमय भएपछि सभामुखले सो घटनाबारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका हुन् । सभामुख महराले सभामुख र उपसभामुखको विषयमा अदालतमा मुद्दा परिसकेको सदनमा जानकारी गराउन नसक्ने भन्दै सांसदहरुलाई सचेत गराए । उनले भने, “सभामुख र उपसभामुखको विषयमा सम्मानित अदालतको विचाराधिन रहेको नेपालको संविधानको धारा १ सय ५ मा व्यवस्था भएअनुसार नेपालको कुनै अदालतमा विचाराधिन मुद्दाहरुका सम्बन्धमा न्याय निरुपणमा प्रतिकूल असर पर्ने भएका कारण यस सम्बन्धमा छलफल गर्न नमिल्ने व्यहोरा जानकारी गराउँछु ।”
बैठकमा कञ्चनपुरमा भएको महिला हिंसामा संलग्न दोषिलाई पत्ता लगाई कारवाही गर्नुको सट्टा न्याय खोज्ने महिलामाथि प्रहरी दमन भएको भन्दै सरकारको चर्को आलोचना भएको थियो । प्रतिपक्षी दलका सांसदहरुले महिला हिंसाका घटनामा संलग्न दोषिलाई नियन्त्रणमा लिएर कारावाही गर्नुको सट्टा न्याय खोज्ने जनतामाथि प्रहरी धरपकड भएको भन्दै सरकारको आलोचना गरेका हुन् । सांसद उमा रेग्मीले १३ वर्षिय निर्मला पन्तको बलात्कारको घटनामा सरकारले दोषिलाई कारवाही गर्नुको सट्टा जनतामाथि धरपकड गरेको भन्दै आपत्ति जनाइन् ।