रमेश शुभेच्छु
काठमाडौँको आरुबारीस्थित रमेश विकल प्रतिष्ठानले हरेक वर्ष रमेश विकल बालप्रतिभा पुरस्कार प्रदान गर्दै आएको छ । त्यसको छनोटका लागि विद्यार्थीहरुमाझ आशुकविता लेखन प्रतियोगिता गराउने गरेको छ । हिजो असोज १३ गते अभिनव साहित्य समाजको संयोजन र इस्ट पोल स्कुलको सहसंयोजनमा आशुकविता लेखन प्रतियोगिताबाट प्रतिभा छनोट गरिएको छ । सो समारोहमा निर्णायकका तर्फबाट दिएको रमेश शुभेच्छुको मन्तव्यको उतार यस साताको साहित्यिक सामग्रीका रुप्मा यहाँ प्रस्तुत गरेका छौँ । शुभेच्छु वरिष्ट साहित्यकार एवम् साहित्यिक पत्रकार हुनुहुन्छ । –सम्पादक
सम्बोधन
धन्यवाद उद्घोषकज्यू
आदरणीय समारोहका सभाध्यक्ष अग्रज साहित्यकार एवम् सञ्चारकर्मी विजय चालिसेज्यू
कार्यक्रमका प्रमुख अतिथि आदरणीय अग्रज डा. कपिल लामिछानेज्यू,
आयोजक संस्था अभिनव साहित्य समाजका अध्यक्षज्यू,
सहआयोजक संस्था इस्टपोल विद्यालयका प्रिन्सिपल राजेश राई सर
आज प्रतियोगितामा सहभागी नवोदित कविहरु
सहभागी नवोदित कविका अभिभावकज्यू
उहाँ सहभागी विविध विद्यालयका हरुका गुरु गुरुआमाहरु
अभिनव साहित्य समाजका प्रतिनिधिहरु,
इस्टपोल विद्यालयका सञ्चालक एवम् प्रतिनिधिहरु ।
सबैमा हार्दिक न्यानो अभिवादन ।
विषय प्रवेश
आजको दिन रमेश विकलका नाममा सार्थक रुपमा बित्यो भन्ने लागिरहेको छ । आदरणीय अग्रज रमेश विकलज्यूको जन्मजयन्तीको अवसर पारेर आयोजना गरेको यस कार्यक्रमले भविष्यका रमेश विकलहरुसँग भेट्ने अवसर मिल्यो । यो हामीलाई कोभिडले दिएको बरदान हो । हामी घरमै बसेर मेची महाकाली र मेचीपूर्व भारतसम्मका नवप्रतिभासँग जोडिन पायौँ । यसमा राजेश सरको पहल कदमी छ भन्ने लाग्छ ।

रमेश विकलज्यू नेपाली आख्यान, बालसाहित्य र निबन्धका धुरन्धर सर्जक हुनुहुन्थ्यो । उहाँको नामको प्रतिष्ठान र अभिनव साहित्य समाजको संयुक्त आयोजनामा हुँदै आएको यो कार्यक्रममा पहिलेदेखि नै म पटक पटक सहभागी हुँदै आएको छु । कहिले प्रशिक्षकका रुपमा कहिले निर्णायकका रुपमा मेरो सहभागिता हुँदै आएको छ । आज पनि निर्णायकका रुपमा सहभागी हुन पाएर खुसी लागेको छ । यो सहभागितालाई मैले गोविन्द घिमिरे सरले गरेको मया ठानेको छु । रमेश विकलको आशीर्वाद ठानेको छु । आयोजक, सहआयोजक र मूल आयोजक रमेश विकल प्रतिष्ठानको पनि विश्वास र माया मानेको छु । मैले यस सन्दर्भमा प्रथमतः विकलज्यूप्रति श्रद्धासुमन अर्पण गर्दै आयोजकहरुमा आभार चढाउँछु ।
मलाई उद्घोषकज्यूले केही मन्तव्य, कविता र निर्णय सुनाउन भन्नुभएको छ म केही भनेर, केही समीक्षा पनि गरेर निर्णय सुनाउँछु ।
विस्तार
निर्णायकको भूमिकामा रहने काम त्यति सजिलो काम होइन । यो एक मिसिकको अपजसिया काम हो । आज हामी परशुराम पराशर, मन्दिरा मधुश्री र मैले हाम्रा विवेकले देखेको निर्णय गरेका छौँ । अघि आयोजकहरुले निर्णायकलाई दिएको आधा घण्टा सकियो, कता जानुभयो भन्दै हुनुहुन्थ्यो । हामी त्यसबेलासम्म यहाँहरुको प्रतिष्पर्धा जाँच गरिरहेका थियौँ । हामी भिन्नै भिडियो च्याट गरिरहेका थियौँ । कसको कति नम्बर आयो भनेर निर्णय गर्दै थियौँ । यहाँहरुमध्ये तीन जनाको प्रतिष्पर्धा निकै कडा छ । बाँकीको पनि प्रतिष्पर्धा राम्रो छ ।
आज सुनेका कविताबाट म भावि पुस्ताप्रति आशावादी बनेको छु । हाम्रो निर्णयक मण्डल आशावादी बनेको छ । मैले अघि नै भनेँ नयाँ विकलहरुलाई भेटेर खुसी छौँ । आज सुनेका कविता राम्रा छन् । नवोदित कविले आयोजकले दिएका शीर्षकका सीमाभित्र रहेर पनि बहुुमुखी भाव अभिव्यक्त गर्नुभएको छ । देश, संस्कृति, कोभिडको प्रभाव, शिक्षा चेतनाका बहुमुखी पक्ष समेट्नुभएको छ । पहिला त सबैलाई बधाई भन्छु ।
केही कविले शास्त्रीय लयमा कविता लेख्ने पयत्न गर्नुभएको छ । त्यस्तो प्रयत्नमा गण नमिल्ने समस्या छ । लय मात्र मिलेको अवस्था छ । यहाँहरुलाई थोरै प्रशिक्षण भयो भने शास्त्रीय छन्दमा पनि लेख्न सक्नुहुन्छ । केही प्रतियोगीले लोकलयमा सिर्जना गर्ने प्रयास गर्नुभएको छ । केही लोकलयका कवितामा पनि भाका मिल्ने तर अक्षर सङ्ख्या तलमाथि परेको समस्या छ । यद्यपि शास्त्रीय लयमा भन्दा लोकलयमा लेखिएका कविताहरु लयका दृष्टिले राम्रा छन् । लय पनि मिलाउनु, त्यसमा विम्बप्रतीक आदि कविताकला भर्नु, लयमै चाहेको भाव व्यक्त गर्नु कविताको विशेषता हो । यो सिर्जनात्मक कार्य निकै कठिन पनि हुन्छ । निकै जटिल पनि हुन्छ । यहाँहरुको प्रयत्नबाट भने म खुसी छु ।
कविता भनेको थोरै शब्दमा धेरै भनिने कला हो । सोझै नभनेर विम्बमा भनिने कला हो । रुपकमा भनिने कला हो । यस्तो कलामा भाषा मात्र भएर पुग्दैन, भाव मात्र भएर पुग्दैन, जुँगा चल्यो कुरा बुझ्यो भन्या जस्तो कवि बोल्यो कुरा बुझ्यो भन्ने अवस्था हुनुपर्छ । अर्थको गहिराई खोजिएको हुनुपर्छ । सकेसम्म समय दिएर लेखिनुपर्छ । त्यसैले कविता साहित्य कलाका अन्य विधा भन्दा विशेष कला हो । कलाको पनि कला हो । आज त आयोजकबाट निस्चित विषय र शीर्षकहरु प्रााप्त थिए । ती विषयका सीमामा रहेर पनि यति छोटो समय समयमा कविता प्रसतुत गर्नुले यहाँहरुको प्रतिभाालाई देखाउँछ । म प्रतिभाको सलाम गर्छु ।
निर्णयको कुरा गर्दा यहाँहरु प्हिला नै पुरस्कृत भइसक्नुभएको छ । आफ्नो स्कुलबाट दुई दुई जना छनोट हुनु नै पहिलो निर्णयमा सफल हुनु हो । यसरी राष्ट्रिय अन्तराष्ट्रिय ख्याति भएका सभाध्यक्ष र प्रमुख अतिथिका अगाडि आफ्नो सिर्जना प्रस्तुत गर्नु अर्को सफलता वा पुरस्कार हो । यहाँहरु भाग्यमानी पुस्ता हुनुहुन्छ । हाम्रो पालामा यहाँहरुलाई जस्तो प्रतियोगितामा सहभागी हुने मञ्च हुँदैन थियो । हामीलार्य सिकाउने गुरु पनि हुँदैन थिए । आज प्रत्यक्ष गुरु नभए अप्रत्यष रुपमा इन्टरनेटमा चाहेको मान्छेलाई भेट्न र चाहेको ज्ञान सिक्न सकिन्छ । इन्टरनेटबाट कसले कसरी वाचन गर्छ हेरेर सिक्न सकिन्छ । कविता कसरी पढ्ने भन्ने कला सिक्न सकिन्छ । यो तपाईँहरुको पुस्ताले हाम्रो पुस्ताले पाउन नसकेको अवसर हो । आज यहाँ जोडिने सबै सहभागी इन्टरनेटको प्रभावमा हुनुहुन्छ । यहाँले इन्टरनेटका माध्यमबाट परपरका कुराहरु सजिलै सिक्न सक्नुहुन्छ । यो अवसरलाई राम्ररी उपयोग गर्नुहोला ।
मैले प्राय निर्णय गरेका मन्तव्य राख्ने क्रममा आफ्ना जीवनका केही घटना सेयर गर्ने गरेको छु । स्कुलमा मलाई दोस्रो बनाउने कवि पनि थिए । उनीहरु सरहरुका आफन्त वा कुनै प्रभावले म भन्दा बढी अङ्क ल्याएर त्यसबेला पुरस्कृत भएका थिए तर आज म तपाईँहरुलाई मूल्याङ्कन गर्न सक्ने कवि भएको छु । उनीहरु बेनाम छन् । गहस्थ र गृहिणी भएर बसिरहेका छन् । म निरन्तर लागिरहेका कारणले आज निर्णयकका रुपमा यहाँहरुका अगाडि छ । यसको कारण म यो क्षेत्रमा निरन्तर लागिरहनु हो । उनीहरु निरन्तर लाग्न नसक्नु हो ।
आज यहाँहरु पुरस्कृत हुनुहोला नहुनुहोला त्यो फरक कुरा हो । पुरस्कार पाउनु नपाउनु ठुलोकुरा होइन । यहाँहरुले आज जसरी नै निरन्तर लेख्नुहोला कि नहोला यो मुख्य कुरा हो । अज फस्ट हुनेको भन्दा दोस्रो तेस्रो र सान्त्वना हुनेको सम्भावना भोलि हुन्छ किन कि यहाँहरुलाई लाग्छ मैले फस्ट हुन बाँकी छ । पुरस्कृत हुनेलाई भन्दा हुन नसक्नेलार्य मैले गर्नुछ भन्ने पक्ष बाँकी रहन्छ । त्यसैले सबैलाई शुभकामना छ । सबैलाई बधाई छ ।
निर्णय
हामीले आज आयोजकले दिएको सङ्ख्याअनुसार निर्णय गरेका छौ । आज हामीले दश जना सान्त्वना र तीन जना प्रथम द्वितीय, र तृतीय छानेका छौँ । यहाँहरु सबैलाई पुरस्कारको व्यवस्था छ । कलिलो उमेरमा रमेश विकल जस्ता विशिष्ट प्रतिभाका नामको पुरस्कार प्राप्त गर्नुभात्र पनि यहाँहरुका लागि विशेष अवसर हो । अभिप्रेरणा हो । अब म निर्णय सुनाउँछु । आयोजकले कविता सुनाउन भन्नुभएको भए पनि म समयलाई ध्यानममा राखी कविता नसुनाई निर्णय मात्र सुनाउँछु । निर्णयम तेह्रौँ स्थानबाट क्रमश प्रथम स्थानतिर घोषणा गर्छु । पहिला सान्त्वना स्थानमा पुरस्कृत प्रतिभाको नाम लिन्छु । कुरा बुझ्नुहोला कि म तेस्रो स्थानदेखि चौथो स्थानसम्मको निर्णय सार्वजनिक गर्दैछु ।
निर्णय यस्तो छः
सान्त्वना
क्रमशः तेह्रौँबाट थौथोसम्म
कुमुद यादव, तेह्रौँ कालिंगपुंग, भारत
प्रसुन बराल – बाह्रौँ, टाइम लाइन एकेडेमी, काठमाडौँ,
समर्पण न्यौपाने – एघारौँ जीएस निकेतन हेटौँडा,
युरिका खाती – दशौँ, रिम्स इन्टरनेशनल मावि, जोरपाटी, काठमाडौँ
सौगात उप्रेती – नवौँ अरुणिमा मावि, काठाडौँ
उषा अधिकारी – आठौँ, जीएस निकेतन हेटौँडा
दीक्षा पौडेल – सातौँ पृथ्वीनारायण मावि, काठमाडौ,
प्रज्ज्वल ढुङ्गाना – छैटौँ मनकामना मावि,
आयुष्मा राई – पाँचौँ एकता जेम्स मावि र
अनुषा घिमिरे चौथो सरस्वती मा.वि जोरपाटी रहनुभभएको छ ।
यहाँहरुलाई बधाई । यहाँहरु अर्कोपटक उत्कृष्ट तीनमा आउन सक्नुहुन्छ ।
उत्कृष्ट तीन
म उत्कृष्ट तीनको नाम पनि तेस्रोबाट प्रथमतिर वाचन गर्छु । यी तीनजना प्रतिभाबिच निकै गहिरो प्रतिस्पर्धा छ ।
तृतीयः सविष्मा अधिकारी, युनिभर्सल मा.वि, धुम्बाराही, काठमाडौँ,
द्वितीयः इिन्दिरा थापा, रिपुमर्दिनी सैनिक मा.वि काठमाडौँ र
प्रथमः विभूति अधिकारी –दून एकेडेमी धनगढी, कैलाली हुनुहुन्छ ।
यहाँहरुलाई बधाई छ । यो निर्णय हाम्रो निर्णय हो । यहाँहरुले आगमी दिनमा हामीलाई पनि चुनौति दिँदै सिर्जनात्मक गतिविधिलाई निरन्तर कायम राख्नुहोला । यहाँहरु सबैमा अनेक शुभकामना । आयोजक संस्थालाई धन्यवाद ।

