अविवाहित युवाप्रति समाजको दृष्ट्रिकोण

 

ज्ञानकाजी तामाङ, 

“ ओई तैले बिहे कहिले ख्वाउछस् ?” उमेरले २० वर्ष पार गरेको अविबाहित आम युवाले सामना गर्नुपर्ने प्रश्न हो यो । जीवनको एक समयमा अधिकांश महिला र पुरुषले यस्तै परिस्थितिको सामना गर्नु पर्ने अवस्था आउछन् । जसरी उमेरमा संख्या थप्दै जान्छ, त्यसैगरि प्रश्न गर्ने मानिसहरुको जमात पनि बढ्दै जान्छ । उमेर सँगसँगै शरिरको संरचनामात्रै परिर्वतन हुदैनन् सामना गनुपर्ने प्रश्नको स्वरुप पनि परिवर्तन हुदै जान्छन् ।

“अहिलेसम्म किन बिहे नगरेको??”,

कसैले पत्याईन कि क्या हो ? 

बुढि कन्या भएर नै बस्छौं कि क्या हो यो त ?

अहिलेसम्म माईत मै बस्दा लाज लाग्दैन?

कोहिसँग रिलेसनमा छ कि क्या हो?

 एउटा राम्रो घरको केटा÷केटि छ कुरा चलाऔं?,

 बिहे गर्नुपर्ने मान्छे बिदेशबाट आउनु पर्ने हो?, 

यसको बिहे खाना नपाई मर्ने भयो इत्यादि…

जति उमेर बढ्दै जान्छ प्रश्नहरु पनि त्यति नै खरो हुदै जान्छ । ठाडो प्रश्नको सामना गर्दै जानुपर्छ । ठाडो प्रश्नको कतिपयले ठाडै जवाफ दिन्छन्, कतिपयले मुसुक्का हाँसेर नै टार्छन तर कुनै ठाँउमा त विवादको अवस्था समेत सृजना हुन पुग्छ । यत्ति मात्रै कहा हो र हरेक छिमेकी र आफन्तको भलाकुसारी गर्ने विषय बन्छन् अविवाहित युवा ।

भर्खरै आप्रवासी बनेको एकजना मित्रले मलाई भने “ओई तँ त भिमसेनमा चढाएको बोको बनेर बस् । बिहे गर्नु छैन खाली हल्लेको छ हिडेको छ ।” झनक्क रिस त उठेको थियो तर रिसलाई कावुमा राख्दै अविवाहित हुदाको फाईदाहरु सम्झिएँ । एक तन एक मन जे गरेपनि ठिकै, जता गए पनि ठिकै, खाए पनि ठिकै भोकै बसेपनि ठिकै, आम्दानी भए पनि ठिकै सुको खल्तिमा नभएपनि ठिकै ।  कुनै बेला सँगसँगै हिडेको मित्रहरु सँग भेटघाट गरौ न त भन्दा विवाहित साथिहरुको जवाफ आउछन् “खै यार बुढिले÷बुढाले मान्ने हुन कि नमान्ने हुन, फेरि बच्चा पनि छ , भ्यायो भने  आउछु नि म” । मुस्किलले कतै भेट भईहाले पनि ढिला हुन्छ यार, घरमा कुरिरहेको छ । चाडै जानुपर्छ नत्र शंका मात्रै गर्छन् फेरि पछि भेटौला नी , यस्तै यस्तै परिधी भित्र बाच्नुपर्ने तर हामी उल्लेखित सबै लक्ष्मण रेखाबाट फ्रिडम, । जतिखेर हिडेपनि भयो । यस्तै यस्तै कुराहरु बिच तुलना गरेपछि एकछिन त मनमा शान्त मिल्छ । अविवाहित भएपछि आनन्द हुदोरहेछ, केहि पिर चिन्ता छैन ।

ज–जसले जसरी प्रश्न गरेपनि हरेक युवाको जवाफ हुन्छन्, अहिले नै बिहे गरेर के गर्नु र ? पहिला क्यारियर बनाउने हो त्यसपछि आफ्नो खुट्टमा उभिन सक्ने हुन्छ अनि गरौला बिहे । फेरि बिहे गरे पछि खर्च बढ्छ । आम्दानी छैन भने बिहे भनेको तनाब दिने माध्यम मात्रै हो । परिवार विच फाटो ल्याउने बहाना हो ।

हुन पनि हो कतिपयको सानैमा बिहे गरेर व्यवहारमा अलाकच्चा हुदाँ सम्बन्धमा फाटो आएको पनि देखिन्छन् । बिहे पश्चात घर खर्च धान्नकै लागि पनि वैदेशिक रोजगारिमा जानैपर्नै बाध्यता पनि आईपर्छन् । राम्रो कमाई गरेर सकुशल फर्केर राम्रो भए त ठिकै  हो तर कतिपयको त लामो समयको बैदेशिक रोजगार पछि दिनरात पसिना बगाएर जोडेको सम्पति समेत कुम्ल्याएर श्रीमति अर्कैसँग भागेको, श्रीमानले अर्कै ल्याएको पनि देखेको छ  । तर सबैको उस्तै हुन्छ भन्ने पनि हैन,  कतिपयको सानैमा गरेको बिबाहले राम्रो घरजम गरेर खाएको पनि देखेको छ । बिबाह अगाडि लटरम्मा धनसम्पति जोडेको एकाधा बाहेक देखेको पनि छैन् । तर बिहे गर्दैमा मात्रै सम्पति कमाउछ भन्नु पनि अविवाहित प्रति अन्याय समेत हुन जान्छ ।

विवाहित युवाहरुलाई सोध्ने हो भने सबै युवाहरु विवाह पश्चात पुर्ण रुपमा सन्तुष्ट भएको जवाफ सबैले दिदैनन् । मेरै कतिपय साथिहरुको मिश्रित खालको प्रतिकृया आउछन् । कारण आ–आफ्नै होलान तर बिबाह पश्चात घर व्यवहार र पारिवारिक झमेलामा सधैभरि बस्नुपर्ने र कतिपय आफ्नो योजना र सपनाहरुलाई समेत छोड्नुपर्ने हुनाले उनिहरु पनि पुर्ण रुपमा सन्तुष्ट देखिदैन । माया ममता, साथ सहयोग, यौन जस्ता कुराहरुमा सन्तुष्टि भए पनि उनिहरुको कतिपय योजना र लक्ष्यमा केन्द्रित हुन नसक्दा मुहार र मनमा कहि न कहि  चित्त नबुझेको झल्को दिन्छन् ।

उसो त उमेरले २५ पार गरिसक्दा पनि अविवाहित रहने युवाहरुको पनि मन शान्त भने देखिदैन । कुनै गाँउ वा टोलमा यस्ता युवाहरु हातमा गन्न सक्ने संख्यामा मात्रै हुन पुग्छन् । आफ्नो साथि सँगीको पारिवारिक जिवन देखेर आफु पनि कहिले त्यसैगरी पारिवारिक सम्पन्न हुने भन्ने पिरलो मनमा बोकेर हिडेको देखिन्छन् । बिबाह पछि सबै जना पारिवारिक बन्धनमा बाधिन्छन् र हरेक गतिविधिमा सँगसँगै हुन्छन् मनका पिर व्यथा सुख दुख आधआध बाढ्छन् तर बिबाह नगरेकोहरु एक्लै बस्नुपर्ने अवस्था समेत सृजना भएको देखिन्छ । मनमा लागेको कुराहरु नजिकको साथि सँगि लाई व्यक्त गर्न नपाउदा मनमा गुम्सिएर बस्ने र तनाब बढ्ेर जान्छन् जसले गर्दा मानासिक रोगको शिकार भएर डिर्पेशनमा जाने समेत खतरा हुनसक्छ ।  त्यसैले त विवाहको बारेमा एउटा यस्तो भनाई प्रचलनमा छ “विवाह एउटा यस्तो क्याब्सुल हो जो खाने पनि पुर्ण निको हुदैनन् भने नखाने पनि निरोगी भएर बस्न सकिदैन । त्यसैले त बरु खाएर नै अर्ध निको हुने बेस”

 

बिबाह हरेक युवाले गर्नै पर्ने समाजिक परम्परा हो । हरेक धर्म र समुदायमा यसको आफ्नै मूल्य र मान्यता छ । धार्मिक दृष्टिकोणबाट हेर्ने हो भने विवाह नगरेको मानिसलाई अपुर्ण व्याक्तित्वको संज्ञा समेत दिन्छन् ।  विश्वको हरेक मानव समुदायमा विवाह आ–आफ्नै रितिथिति अनुसार सम्पन्न गर्ने गरिन्छ । हाम्रो तामाङ समुदायमा विषेश गरि मागि बिवाह पहिलो प्रथाममिकतामा पर्छन भने बिगतमा चोरि बिवाह समेत गर्ने गरेको पाईन्थ्यो । कुनैबेला प्रेम विवाहलाई निषेधज्ञा गर्ने गरेको नेपाली समाजमा समय संँगसँगै अहिले  युवायुवती बिच हुने प्रेम बिवाहलाई  पहिलो प्रथामिकता दिन थालेको देखिन्छ । तामाङ समुदायमा मात्रै हैन युवायुवतीको भावना अनुरुप अहिले अधिकांश समुदायमा अन्र्तरजातिय विवाह र प्रेम बिवाहलाई सामाजिक मान्यता दिन थालेको समेत देखिन्छन् ।

शिक्षा र चेतन सँगसँगै मनिसको जिवन जिउने शैलिमा पनि व्यापक परिवर्तन हुदै गईरहेको छ । हाम्रा हजुरबुवाको पालामा १२–१५ वर्षको उमेर भित्रमा बिहे गरिसक्थे । बुवाको पाला सम्म आईपुग्दा १५– २० वर्ष भित्रमा बिहे गरिसकेको कुरा सुनाउनु हुन्छ । तर  हाम्रो पालामा २५–३५ वर्षको उमेर भित्र बिहे गर्ने परिपाटि बासल्दै छन । भविश्या प्रतिको चिन्ता र आम्दानीको स्रोत सुनिश्चत नभएसम्म हरेक युवा बिबाहबाट पन्छिन नै खोज्छन् ।

उसो त अहिले पनि हाम्रै मुलुकमा अझैसम्मा पनि बाल बिबाह गरेको थुप्रै घट्न र समुदाय छन् । पारिवारिक कानुनमा केटा र केटीको उमेर २० वर्ष कटेपछि मात्रै बिहे गर्न पाउने प्रवन्ध छ । यहि कानुनको खारेजी माग गर्दै तराईको विभिन्न समुदायले केहि समय अगाडि आन्दोलन समेत गरेको थियो । उनिहरुको राय थियो अरुको घरमा जाने बेटिया(छोरी) हामी पाल्न सकिदैन । स्वास्थ्याको दृष्टिकोणबाट हेर्ने हो भने पनि २० वर्ष भन्दा पहिला र ३० वर्ष भन्दा पछि गर्भवती भयो भने शरिरमा जोखिम रहन्छ ।

ज–जसले आ–आफ्नो प्रतिक्रिया र तर्क दिए पनि बिबाह एक सस्कृतिक अपरिहार्य बन्धन हो । बिबाह औपचारिकताको लागि मात्रै हैन मानव जातिको प्रजनन् सन्तुलनको लागि समेत अति आवश्यक छ । विवाह गर्दा उमेरमा परिपक्कता मात्रै हैन आम्दानी र खर्चमा सन्तुलन पनि मिलाउनु आवश्यकता हुन्छ । एउटा सफल र परिपक्का दाम्पत्य जिवनको लागि मानासिक, आर्थिक, सामाजीक र शैक्षिक रुपमा सम्पन्न हुन सकेको खण्डमा जिवन नै सफल बन्न पुग्छ ।

 

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.