असोज २३, काठमाडौं । फेसबुकसँगको सहकार्यमा वर्ल्डलिंकले ७ हजार ५ सय ठाउँमा फ्री इन्टरनेट सेवा दिने भएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड र फेसबुकबीच नेपाली इन्टरनेट प्रयोगकर्तालाई यस्तो सेवा प्रदान गर्ने सहकार्य भएको छ ।
वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले फेसबुकसँग भएको सहकार्यबारे जानकारी गराएका छ । एक्सप्रेस वाइफाई प्लेटफर्मअन्तर्गत अहिले वर्ल्डलिंकले देशभर उपलब्ध गराएको १० हजारभन्दा बढी सार्वजनिक फ्री वाइफाईमध्ये ७ हजार ५ सय स्थानका वाइफाईका लागि सहकार्य गरेको वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका अध्यक्ष दिलीप अग्रवालले जानकारी गराए । उनले यो सहकार्यले अझ पहुँचमा नभएका मानिसहरुलाई इन्टरनेट पहुँचमा ल्याउने विश्वास व्यक्त गरे । “हामीलाई सरकारले स्पेक्ट्रम दिएको छैन र नदिँदा समस्या भएको छ, तर पनि फेसबुकसँगको सहकार्यमा पब्लिक वाइफाई व्यवस्थापन गर्न सहयोग हुनेछ,” उनले भने ।
आगामी दिनमा इन्टरनेट सेवा प्रदायकहरुलाई समेत सरकारले स्पेक्ट्रम दिएर सहयोग गर्नुपर्ने बताउँदै सरकारले मोबाइल स्पेक्ट्रममार्फत डाटा र इन्टरनेट दिने कुनै कानुन आए प्रयोगकर्तालाई अझै सहज उनले बताए । अग्रवालका अनुसार एक्सप्रेस वाइफाई प्लेटफर्मले वर्ल्डलिंकको सार्वजनिक वाइफाई सेवा सुधार गरेर, दुरुस्त, भरपर्दो र किफायती इन्टरनेट सेवाका साथै सबैका लागि, सबै ठाउँमा, सधैं जोडिनेछ ।
फेसबुकका तर्फबाट मोबाइल पार्टनरसिपका निर्देशक करण खाराले रोजगार, शिक्षा, स्वास्थ्यसेवा र थप पहुँच सुनिश्चित गर्न उच्च गुणस्तरीय इन्टरनेट पहुँच अत्यावश्यक रहेको बताए । “एक्सप्रेस वाइफाई प्लेटफर्मको साथ, वर्ल्डलिंक नेपालमा आफ्नो वाइफाई कभरेजलाई दिगो रुपमा विस्तार गर्न सक्षम छ । धेरै व्यक्तिलाई अनलाइनका लागि सक्षम पार्ने हाम्रो विश्वास छ । हामी वर्ल्डलिंकसँग निरन्तर साझेदारीको लागि तत्पर छौं,” उनले भने ।

