आधा मात्र खुल्ला भएको ढोकाबाट सुत्केरी स्याहार्न आउनु भएकी आमाले म बसेको कोठामा यसो चिहाउँदै ‘माथी छोरी रोइरहेकी छे’ भन्नूभयो। यो आवाजको गुनगुनाहट एक्छिन सम्म मेरो कानमा रहिरह्यो ।मन एकछिन नरमाइलो लागेर अमिलो भयेको भान भयो। आमाले ढोकाको छेउम राखिदिनु भएको एक गिलास तातो गुर्जो पानीको पहिलो घुट्का पिउँदै माथिल्लो फ्ल्याटमा आज १३ दिन मात्र पुगेको सुत्केरी आमासँग भाइ हेर्दै बसेकी छोरीलाई म्यासेन्जरमा भिडियो कल गर्न मोबाईल हातमा राखेको मात्र थिएँ, माथीबाट छोरीले पहिलेनै गरेको कलको मिसकल बसिसकेको रहेछ। तल पट्टी आईलभ यू बाबा भनेर टाइप गरेर पठाएको म्यासेज पनि रहेछ।
सात बर्ष मात्र भएकी छोरीले गरेको यो अपार माया अनि छोरिको मनमा प्रकट भएको यो स्नेहाले यो मन बाहिर हर्षित भयो नै तर भित्र मनमा भने एउटा छुट्टै सान्त्वना मिलेको आभाष प्रकट भयो । केही नसोची छोरीलाई भिडियो कल गरे। प्रायः छोरीसंग जिस्केरै भएपनि लामो समय बोल्ने म येतिखेर धेरैबेर बोल्न नसकेको आभाष भयो। जिस्केर बोल्न खोजेका शब्दहरु निस्किन सकेनन्। मात्र छोरीलाई ‘सानू के गर्दै छौ ’ भनेर सोध्न नपाउँदै छोरिले भनिन ‘बाबा हजुरलाई कस्तो छ ?’ आँसु लत्पताएर भएपनि बाबासिता त्यति धेरै नम्र अनि अनि प्यार दर्शाएर मलाइ सान्त्वना दिन खुशी हुँदै बोल्दा खै के भयो मेरा आखामा आशु बर्सिन थाले। आशु थाम्न सकिन अनि भिडियो कलको भिडियो अन्तै तलमाथी भित्ताहरु देखाएर थोरैबेर छोरिसित केहीकुराहरु भयो। खै किन हो आँशुका भेलहरु एक्छिन सम्म बगिरह्यो।
तुरुन्त फेरि छोरीलाई म्यासेज गरे ‘हजुरले होमवर्क गरिस्यो ? तुरुन्त रिप्लाई आयो एस् भनेर। फेरि मैले खुशी साथ रिप्लाई गरे’ आईएम भेरी हेप्पी फेरि छोरीको रिप्लाई नियाले। छोरिले रिप्लाई गरिछे ‘आईएम भेरी स्याड’ भनेर । छोरीको भावना मुल्यांकन गर्न मलाई कुनै समय लागेन। आज मलाइ पिसिआर पोजिटिभ भइसकेको कुरा छोरी ले थाहा पाईसकेकी छिन् भन्ने कुराको झझल्को छोरीको बोलाइ र भिडियोकलमा देखिएको उस्को चेहराले प्रस्ट पारी सकेको थियो। एउटा बाल मस्तिष्कमा बाबा प्रति आफ्नो छोरीले दर्शाएको यो भाव, प्रेम अनि साथ मेरो लागि एउटा गर्वको क्षण पनि रह्यो। अब मैले छोरीलाई कोरोना हुदैमा आतिनु नपर्ने, कोरोनाको हाउगुजी बाट विशेष सावधानी अपनाउँदा यसबाट सजिलै छुट्कारा पाउन सकिन्छ भन्नेकुरा सिकाउनु पर्ने देखिन्छ। सायद आज धेरै बालबालिकाहरुमा यो मनोबैज्ञानिक असर परेको पक्कै पनि छ।
मलाइ बिश्वास छ आज म कोरोना संक्रमित भएको छु। म आफुले आफैलाइ विशेष सावधानी अपनाएर छिट्टै कोरोनालाई जितेर पुनः आफ्नो काममा फर्कन सक्छु र अहिले पनि म नर्मल जस्तै छु। कुनै लक्षण देखिएको छैन र मन आतिएको पनि छैन मात्र छोरीको बाल मस्तिष्कलाई बुझेर केही क्षण भावुक भएको मात्र हो।
पुष्पराज अधिकारी
कीर्तिपुर– ०२, काठमाडौ ।
२१ असोज २०७७
समयः बिहान ९ बजे

