तीन महिनामा समातिए १६३ फरार प्रतिवादी

असोज १९, तनहुँ । देवघाट गाउँपालिका २ का ६१ वर्षीय खड्कबहादुर दमैलाई जिल्ला अदालत तनहुँले २०४९ मङ्सिर ८ गते दुई वर्ष ८ महिना २२ दिन कैदको फैसला सुनायो । जिउ मास्‍ने उद्योगमा कैद सजाय तोकिएका उनी त्यसयता फरार सूचीमा थिए ।

प्रहरीले उनीलाई २८ वर्षपछि आइतबार पक्राउ गरेको छ । देवघाट ४ का सनबहादुर थापालाई सोही अदालतले २०६३ कात्तिक १२ गते एक महिना कैदको फैसला सुनायो । सवारी ज्यान मुद्दामा कैद तोकिएका थापालाई प्रहरीले १४ वर्षपछि आइतबार पक्राउ गरेको छ । यी दुई घटना उदाहरण मात्रै हुन् । अदालतबाट सजाय तोकिएका विभिन्‍न मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयले विशेष अभियान चलाएको छ । प्रहरीको अभियानअन्तर्गत असार पहिलो सातादेखि यही असोज १८ गतेसम्म १६३ फरार प्रतिवादी पक्राउ परेका छन् ।

फरार प्रतिवादी पक्राउ गर्ने अभियानअन्तर्गत आइतबार मात्रै प्रहरीले २४ जनालाई पक्राउ गरेको जिप्रकाका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार कर्तव्य ज्यान मुद्दामा फरार एक, मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार सात, सम्बन्धविच्छेद मुद्दामा फरार दुई, केही सार्वजनिक अपराध मुद्दामा फरार पाँच, दर्ता बदर सार्वजनिक गरी पाउँ मुद्दामा फरार दुई, जालसाजी मुद्दामा फरार दुई, जारी मुद्दामा फरार एक र सवारी ज्यान मुद्दामा फरार एक जनालाई पक्राउ गरिएको छ । पक्राउ परेका प्रतिवादीले २५ रुपैयाँदेखि रु २२ हजार रुपैयाँसम्म जरिवाना तथा ७ दिनदेखि दुई वर्ष ९ महिनासम्म कैद सजाय भुक्तान गर्न बाँकी रहेको प्रनाउ तिमिल्सिनाले जानकारी दिए । पक्राउ परेकालाई जिल्ला अदालत पेस गरिएको छ ।

प्रहरीका अनुसार असारमा ६, साउनमा ४२, भदौमा ५२ र असोजमा ६० जना पक्राउ परेका छन् । पक्राउ परेका प्रतिवादीबाट २४ लाख रुपैयाँभन्दा बढी जरिवाना असुल गरिएको छ । प्रहरीले फरार प्रतिवादी पक्राउ गर्न विशेष टोली बनाएको छ । जिप्रकाका प्रमुख (प्रहरी उपरीक्षक) अरुण पौडेलले गल्ती गरेपछि कारबाही भोग्‍नैपर्छ भन्‍ने सन्देश दिन प्रहरी सफल भएको बताए । (रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.