कक्षा १२ मा लिखित परीक्षाको विकल्प छैन

असोज १९, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कक्षा १२ को परीक्षा लिखितरुपमै लिने गरी गृहकार्य भइरहेको बताएका छन् । उनले विद्यालय तहको अन्तिम परीक्षा भएकाले लिखित लिनुको विकल्प नभएको स्पष्ट पारेका छन् ।

परीक्षा सम्बन्धी गृहकार्य गरिरहेका तथा केही दिनमा निर्णय हुने जानकारी दिँदै उनले दुर्गममा होम सेन्टर, सुगममा नजिकको परीक्षा केन्द्रमा व्यवस्थापन गर्ने गरी तयारी भइरहेको बताए। राष्ट्रिय परीक्षा बोर्डले जिल्लाबाहिर रहेका विद्यार्थीको तथ्यांक संकलन गरिरहेको र सो तथ्यांक प्राप्त भएपछि कसरी लिखित परीक्षा व्यवस्थापन गर्ने भन्ने विषयमा निर्णय हुने मन्त्रीले बताए। मन्त्रालयको पछिल्लो तयारीको अवस्था विश्लेषण गर्दा मंसिर यता परीक्षा हुने छाँट देखिएको छैन । मन्त्री पोखरेलले भने अन्तिम तयारी भइरहेको दाबी गरे । मन्त्रालयले कोही पनि विद्यार्थीलाई सवारीसाधनको सुविधा भएको घर पायक र परीक्षाका लागि डेरा खोज्न नपर्ने स्थानबाट परीक्षा दिने गरी व्यवस्थापन गर्न बोर्डलाई निर्देशन दिने तयारी गरेको छ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले लिखितरुपमा परीक्षा लिने प्रस्तावको बारेमा छलफल भइरहेको बताए। उनले भने– ‘यस्तो अवस्थामा भौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्ड पालना गरेर मात्र परीक्षा गर्ने तयारी भइरहेको छ ।’

मन्त्रालयले सबै विधि र प्रक्रिया तयार गरी गएको मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव पेस गरेको थियो । गएको मन्त्रिपरिषद्को बैठकले कक्षा १२ को परीक्षाको विषयलाई प्राथमिकतामा नराखी राजदूत र मुख्यसचिव नियुक्ति गर्ने निर्णय गरेको थियो ।कक्षा १२ को विषयमा कहिले निर्णय हुन्छ भन्न सक्ने अवस्था छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सचिवालयका ५ सहित झन्डै ७५ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएपछि अत्यावश्यकबाहेक सबै काम बन्द गरेका छन् ।

यस्तो अवस्थामा परीक्षाको विषयका निर्णय हुन सक्ने अवस्था देखिँदैन। मन्त्रालयका अनुसार अब बस्ने मन्त्रिपरिषद्को बैठकमा कक्षा १२ को परीक्षाको विषयमा निर्णय हुने अपेक्षा गरिएको छ । मन्त्री पोखरेलले मन्त्रिपरिषदमा सबै विज्ञ र सरोकारवालासँगको निर्णयको आधारमा कक्षा १२ को परीक्षा लिखितरुपमा लिनुपर्ने निष्कर्ष निकाल्दै सोही प्रस्ताव पेस गरेका छन् । मन्त्रिपरिषद्ले निर्णय गरे लगत्तै बोर्डले परीक्षा लिने प्रक्रिया थाल्नेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.