गान्धीको विचारलाई विश्वले मानवतावादी विचारको रुपमा मान्यता दिएको छ – मन्त्री ज्ञवाली

असोज १५, काठमाडौं । गान्धी जयन्तीका अवसरमा नीति अनुसन्धान प्रतिष्ठान नेपालले वेबिनार  आयोजना गरेको छ । आज विहिबार राजधानीमा आयोजित वेबिनारमा आफ्नो धारणा राख्नु हुँदै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गान्धीको विचारलाई विश्वले मानवतावादी विचारको रुपमा मान्यता दिएको बताउनु भयो ।

मन्त्री ज्ञवालीले धेरै नेपाली गान्धीको मानवतावादी विचारबाट प्रभावित भएका र नेपालको राजनीति पनि गान्धीको शान्तिपूर्ण र मानवतावादी सोचबाट प्रभावित भएकोमा समेत जोड दिनु भयो । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले रंगभेदी लडाईमा गान्धीको योगदान व्यवहारिक भएको स्मरण गर्नु हुँदै गान्धीको जन्मदिनलाई अन्तराष्ट्रिय शान्ति दिवसको रुपमा स्विकार गरेर संयुक्त राष्ट्रसंघले पनि गान्धीको विचारलाई सम्मान गरेको बताउनु भयो । उहाँले गान्धीको अहिंशावादी विचारबाट नेपाल पनि गहिरोसँग प्रभावित भएकोमा जोड दिनु हुँदै नेपालका गान्धी विचारका प्रचारक तुलसी मेहर श्रेष्ठको स्मरण गर्नु भयो ।

राजदूत विनय मोहन क्वात्राले गान्धीले सामाजिक विकास र विश्व शान्तिका लागि हिंशाको अन्त्यमा जोड दिनु भएकोले विश्वले गान्धीको विचारलाई मानवतावादी दर्शनको रुपमा ग्रहण गरेको समेत बताउनु भयो । नेपाली काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले नेपाल र नेपालीप्रति गान्धीको अगाथ स्नेह रहेको स्मरण गर्नु हुँदै आफ्ना पिता गणेशमान सिंह गान्धीबाट प्रभावित भएर प्रधानमन्त्री पद त्याग्नु भएको बताउनु भयो ।

भारतीय जनतापार्टीका विदेश मामला प्रमुख विजय चौथाइवालेले सत्य, अहिंशा र करुणा गान्धीको दर्शनको मूल पक्ष भएकोमा जोड दिनु हुँदै गान्धीले मानवताको विकासमा विश्वलाई बाटो देखाएको बताउनु भयो । उहाँले गान्धीको दर्शनबाट विश्वले सँधै मानवताको पाठ सिक्नु पर्नेमा जोड दिनु भयो । जनता समाजवादी पार्टिका वरिष्ठ नेता राजेन्द्र महतोले गान्धीको दर्शनमा स्वदेशीपनमा आधारित जीवनपद्धति र अहिंशामा आधारित अर्थ राजनीतिको समिश्रण रहेकोमा जोड दिनु हुँदै गान्धीको विचारले विश्वमानवलाई ऋणि बनाएको बताउनु भयो । उहाँले नेपालीहरु पनि गान्धीको अहिंशाको विचारबाट गहिरोसँग प्रभावित भएको बताउनु हुँदै आफ्ना राजनीतिक गुरु गजेन्द्र नारायण सिंहबाट आफूले पनि समानता र पहिचानका लागि अहिंशाको राजनीति सिकेको स्मरण गर्नु भयो ।

नागरिक समाजका अगुवा सुन्दरमणी दिक्षितले पूर्वीय दर्शनको गहनता गान्धीको विचारमा गहिरोसँग जोडिएको बताउनु भयो । उहाँले गान्धीले पूर्वीय दर्शनको महानता र मानवतावादी दर्शनलाई देश र समाजको विकाससँग जोडेर प्रस्तुत गर्नु भएको समेत बताउनु भयो । नीति अनुसन्धान प्रतिष्ठान नेपालका निर्देशक दीपक अधिकारीले समाज र राष्ट्रको मूल स्वभावको ज्ञान गान्धीको दर्शनमा पाईनेमा जोड दिनु हुँदै त्यसबाट समाज र राष्ट्रको मौलिक विकास हुन सक्ने बताउनु भयो । (तस्विरः मुकुन्द कालिकोटे)

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.