असोज १४, एजेन्सी । चेल्सी काराबाओ कप फुटबलबाट बाहिरिएको छ । मंगलबार राति भएको खेलमा टोटनहमसँग पराजित हुँदै चेल्सी काराबाओ कपको शीर्ष १६ बाट बाहिरिएको हो ।
टोटनहमको घरेलु मैदान टोटनहम हट्सपर स्टेडियममा भएको भएको खेलमा चेल्सी पेनाल्टीमा ५–४ ले पराजित भएको हो । निर्धारित समयको खेल १–१ को बरारबीमा रोकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो । खेलमा सुरुआती अग्रता भने चेल्सीले लिएको थियो । खेलको १९ औं मिनेटमा टिमो वेरनरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० को अग्रता बनाएको चेल्सीले अग्रता जोगाउन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
खेलको ८३ औं मिनेटमा टोटनहमका एरिक लामेलाले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले रेगुइलोको पासमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका हुन् । पेनाल्टीमा टोटनहमका ह्यारी केन, लुकास मोउरा, पिएरे एमिले, एरिक लामेला र एरिक डिएरले गोल गरे । चेल्सीका लागि भने एमेर्सन पालमेएरी, जोगिन्हो, अज्पिलिकुएटा र टमी अब्राहमले गोल गर्दा मासन माउन्ट गोल गर्नबाट चुकेका थिए । माउन्टको पेनाल्टी प्रहार पोलमा लाग्दै फर्किएको थियो । यस जितसँगै टोटनहम काराबाओ कप फुटको अर्को चरणमा प्रवेश गरेको छ ।

