साउन ११, काठमाडौं । एसिया प्यासिफिक ग्रुप अन मनि लाउन्ड्रिङ (एपीजी) को २१औं वार्षिक बैठक शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ ।
एसिया प्रशान्त क्षेत्रमा हुने सम्पत्ति शुद्धिकरण, आतंकवादी क्रियाकलापमा कालोधनको प्रयोग नियन्त्रण, आपसी संयन्त्र विकासलगायतका विषयमा केन्द्रित रही बैठक भएको हो ।बैठकमा एसिया प्रशान्त क्षेत्रका ४१ देशसहित करिब ५०० प्रतिनिधि सहभागी रहेका थिए । चार दिनसम्म चलेको बैठकको उद्घाटनकाक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय भुक्तानी संरचनाको कारण वित्तीय अपराधको जोखिम बढ्दै गएको बताएका थिए ।
विद्युतीय माध्यमबाट हुने भुक्तानी र यसका लागि बनेका संयन्त्रका कारण वित्तीय कारोबारमा जोखिम बढिरहेको उनले उल्लेख गरेका थिए । अहिलेको मुख्य चुनौती बनेको भुक्तानीमा प्रयोग भएका आधुनिक प्रविधि र गैर बैंकिङ भुक्तानी सम्बन्धी संयन्त्रबारे बैठकमा विस्तृत् छलफल भएको थियो ।

