म्याग्दीमा मोबाइलको टावर टिप्न रुख चढ्नु पर्ने समस्या

असोज १०, म्याग्दी । म्याग्दीको भौगोलिकरूपमा बिकट र दुर्गम क्षेत्रका बासिन्दा सञ्चार सुविधाबाट बञ्चित छन् । मोबाइलमा कुरा गर्न घण्टौं हिँडेर छिमेकी गाउँ पुग्ने, डाँडा र रुख चढ्नु पर्ने बाध्यता छ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिकाको कुइनेमङ्गले र चिमखोला, धवलागिरि गाउँपालिकाको लुलाङ, मल्कवाङ र बगरमा सरकारी स्वामित्वको नेपाल टेलिकम र एनसेल लगायत निजी कम्पनीले मोबाइल सेवा विस्तार गरेका छैनन् । स्थानीयवासीहरु मोबाइलमा कुरा गर्नका लागि घण्टौँ पैदल हिँडेर छिमेकी गाउँ, डाँडा र रुख चढ्ने गरेका छन् । महत्वपूर्ण सूचना आदानप्रदानका साथै स्वदेश तथा विदेशमा रहेका आफन्तसँग कुराकानी गर्न टावरले टिप्ने ठाउँ खोज्दै रुखमा चढ्ने गरेको रघुगङ्गा गाउँपालिका–८ चौरखानीका चन्द्रमान छन्त्यालले गुनासो गरे।

सडक यातायात, केन्द्रीय प्रसारण लाइनको विद्युतको सुविधा नपुगेको दुर्गम क्षेत्रमा टेलिकमले जडान गरेको भिस्याट प्रविधिको टेलिफोन प्रयोगविहीन छ । एक मिनेट फोनमा कुरा गरे हुनेमा घण्टौँ हिँडेर सम्बन्धित व्यक्तिसँग भेट्नु पर्ने बाध्यता कायमै छ । एक लाख १३ हजार जनसङ्ख्या भएको जिल्लामा ९० हजार ३१७ थान सिम वितरण गरी ८० प्रतिशत नागरिकमा मोबाइल फोनको पहुँच विस्तार गरेको नेपाल टेलिकमको दाबी छ । तर ग्रामीण क्षेत्रमा सूचना प्रवाह गराउन अझै टोलटोलमा परम्परागत कटुवाल प्रथाको सहारा लिनु परेको कुइनेमङ्गलेका वडाध्यक्ष गमान छन्त्यालले बताए ।

म्याग्दीमा टेलिकमका २६ मोबाइल, पाँच ल्याण्डलाइन र चार वाइम्यास गरेर ३५ वटा बिटिएस टावर छन् । विद्युत् सुविधा नभएका ठाउँमा सौर्य ऊर्जा जडान गरेर सञ्चालित टावरले घाम लाग्दा मात्रै चल्ने र हावाहुरी, चट्याङ, वर्षातको समयमा अवरुद्ध हुने गरेको छ । सञ्चार सेवा भर पर्दो नहुँदा स्थानीय तह, वडा, बैंक तथा वित्तीय संस्थाको सेवा प्रवाह र काम कारवाहीमा कठिनाइ भएको धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिए।

कुइनेमङ्गले र चिमखोलामा मोबाइल सेवा विस्तारका लागि टावर जडान गर्न ठेक्का लगाएको टेलिकमका प्रमुख विष्णुदेव शाहले बताए। धवलागिरिको लुलाङ, बगर र मालिकाको दरवाङमा नयाँबिटिएस स्थापना तथा बेनीमा तामाको तार हटाउन लागेको उनले बताए।रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.