साउन ११, काठमाडौं । बालाजु कराते डो–प्रतिष्ठानले कराँते खेलाडी एस्तर राईलाई १ लाख नगदसहित सम्मान गरेको छ । शुक्रबार बालाजुस्थित आफ्नै डोजोमा आयोजित कार्यक्रममा कराते डो–प्रतिष्ठानले एस्तरलाई नगदसहित खादा लगाएर सम्मान गरेको हो ।
जापानको ओकिनमा भएको १७ औं एसियाली जुनियर तथा यू–२९ कराते प्रतियोगितामा यू–२९ तर्फ एस्तरले ऐतिहासीक कास्य पदक जितेकी थिइन । एसियाली करातेमा नेपालबाट अहिलेसम्मकै पहिलो पदक जित्ने उनी बालाजु कराते डो प्रतिष्ठानकी उत्पादक समेत हुन् । प्रशिक्षकमा भने ध्रुवबिक्रम मल्लले प्रशिक्षण गराएका थिए । यस्तै गत साता थाइल्याण्डको इण्डोर हलमा सम्पन्न थाइल्याण्ड ओपन कराते प्रतियोगितामा पदक जित्न सफल आफ्नो एकेडेमीका चार नेपाली खेलाडीहरु मनिष थापा क्षेत्री, विजय श्रेष्ठ, नवीन रसाईली र राजीव श्रेष्ठलाई पनि प्रतिष्ठानले सम्मान गरेको हो ।
गुरुपूर्णिमाको अवसरमा प्रतिष्ठानका खेलाडीहरुले अध्यक्ष तथा मुख्य प्रशिक्षक मल्ललाई सम्मान गरेका थिए । कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका मानार्थ अध्यक्ष ध्रुवबहादुर प्रधान, प्रतिष्ठानका अध्यक्ष ध्रुवबिक्रम मल्ललगायत उपस्थित थिए ।