साउन १०, काठमाडौं । अब सबै विद्यालयबाट अस्थायी शिक्षक हट्ने भएका छन् । अहिले देशभर ३२ हजार भन्दा बढी अस्थायी शिक्षक छन् । उनीहरुलाई स्थायी गराउन परीक्षा समेत सञ्चालन भएको छ । विद्यालय क्षेत्रलाई अस्थायी शिक्षक मुक्त गराउन सरकारले नयाँ गृहकार्य थालेको हो ।
अहिले सार्वजनिक विद्यालयमा शिक्षकको दरबन्दी एक लाख सात हजार छ । यसमध्ये करिब ७० हजार शिक्षक मात्र दरबन्दीमा कार्यरत छन् । अन्य शिक्षक अस्थायी दरबन्दीमा कार्यरत छन् । लामो समयदेखि शिक्षण पेशा अंगाल्दै आएका अस्थायी शिक्षकहरुलाई स्थायी गराउन शिक्षक सेवा आयोगले परीक्षा लिएसँगै अबको केही समयमा विद्यालय अस्थायी शिक्षक मुत्तm, हुने भएको हो । विद्यालयलाई अस्थायी शिक्षकमुक्त बनाउन परीक्षा अत्यन्त फलदायी हुने आयोगका प्रशासकीय अधिकृत सहसचिव डा. तुलसी थपलियाले जानकारी दिए ।
स्थायी शिक्षकको लागि लिईएका अस्थायी शिक्षकको परीक्षाको नतिजा प्रकाशन भएपछि मुलुकलाई पनि ठूलो राहत मिल्नेछ आयोगले विश्वास लिएको छ । गत असार २९ र ३० गते सञ्चालित परीक्षामा अस्थायी दरबन्दी कायम रहेका २२ हजार ७९ पदका लागि अस्थायी शिक्षकबीच प्रतिस्पर्धा भएको छ । यस पटकको परीक्षामा प्राथमिक तहमा १६ हजार ५ सय ३२, निम्न माध्यमिक तहका लागि तीन हजार दुई सय ३४ र माध्यमिक तहका लागि दुई हजार तीन सय १० पदमा प्रतिस्पर्धा भएको थियो । यसबाहेक आयोगले खुला प्रतिस्पर्धाका लागि पनि १२ हजार सात सय ३९ दरबन्दीमा आवेदन मागिसकेको छ ।