बाँझो जग्गा उपयोग गर्ने योजना बन्दै

असोज ६, धनगढी । सुदूरपश्चिम प्रदेशमा बाँझो रहेको खेतीयोग्य जग्गालाई उपयोग गरी कृषि उत्पादन वृद्धि गर्ने योजना कार्यान्वयन गर्न लागिएको छ ।

कतिपय जग्गा धनीले आफ्नो सबै जग्गा उपयोगमा ल्याउन नसकिरहेको र खेती गर्न चाहनेले जग्गा नपाउने समस्या देखिएको अवस्थामा बाँझो जग्गा राख्ने प्रवृत्तिलाई निरुत्साहित गरी कृषि उत्पादन वृद्धि गर्न यो कार्यक्रम कार्यान्वयनको तयारी गरिएको हो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत गोकुल बोहराले यो योजना कार्यान्वयनका लागि बाँझो जग्गा भाडामा दिन र लिन चाहनेलाई कृषि ज्ञान केन्द्र मार्फत् सहजीकरण गर्ने व्यवस्था हुन लागेको बताए ।

‘‘पहाडका कतिपय जिल्लामा खेती योग्य ठूला फाँट बाँझो अवस्थामा देखिन्छन्”, बोहराले भने, “यस्तो जग्गा भाडामा लिन चाहनेले जग्गा धनी खोज्दै हिँडेको देखिएकोले कार्यक्रम मार्फत् दुवै पक्षलाई सहजीकरणको प्रयास गर्न लागिएको हो ।ू

भाडामा लिने र दिने काम भने सम्बन्धितको स्वेच्छामा हुने जनाइएको छ । मन्त्रालयले यो योजना कार्यान्वयनका लागि आवश्यक कार्यविधि तयार गरिरहेको छ । जग्गा भाडामा लिन र दिन चाहनेको विवरण कृषि ज्ञान केन्द्रमा राख्ने व्यवस्था गर्न लागिएको छ । यस्तो कामले भाडामा लिन र दिन चाहने दुवैलाई फाइदा हुने, जग्गाको सम्पूर्ण विवरण एकैस्थानवाट प्राप्त गर्न सकिने र जग्गा बाँझो रहने समस्या हट्ने भई जग्गाको सदुपयोग हुने कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्मा बताउछन् ।

पछिल्ला वर्षमा कतिपयले आफ्नो जग्गा खेती लगायतको कामको लागि भाडामा दिने गरेका छन् । तर के कति जग्गा भाडामा रहेको र कति जग्गा बाँझो छ भन्ने एकिन तथ्यांक कुनै निकायसँग छैन । कतिपय ठाउँमा जग्गा भाडामा लिँदा वा दिँदा बिचौलियाले फाइदा उठाउने गरेको पनि देखिन्छ । जसका कारण जग्गा दिने र लिनेले पनि उचित मूल्य नपाइरहेको अवस्था छ । प्रदेशका पहाडी जिल्लामा तराईका जिल्लाको तुलनामा बढी जग्गा बाँझो रहने समस्या बढ्दो छ ।  खास गरी सडक सञ्जालको पहुँच पुग्न नसकेका ग्रामीण क्षेत्रमा यस्तो समस्या बढी छ । पहाडवाट तराई क्षेत्रमा बसाइँ सराई गर्नेहरु बढ्दै जाँदा पहाडका कतिपय पुराना वस्तीमा बाँझो जग्गा बढ्दै गएको देखिन्छ ।

तराईमा धेरै जग्गा हुनेले आफ्नो जग्गा खेतीका लागि अर्को व्यक्तिलाई अधिँया (बटैया) कमाउन दिने प्रचलन छ । खेती गर्दा लगानी बढी चाहिने र श्रमिकको अभाव हुने जस्ता समस्या देखिने गरेकोले कतिपय ठाउँमा जग्गा बाँझो हुने समस्या रहेको स्थानीय किसान रामचन्द्र भट्ट बताउछन् । यद्यपी पछिल्ला वर्षमा कृषिमा भइरहेको यन्त्रिकरणसँगै खेती गर्न भने केही सहज भएको उनले बताए ।– रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.