असोज ४, काठमाडौँ । एमाले र माओवादी मिलेर बनेको नेकपामा सदस्यताको लफडा सुरु भएको छ । आगामी चैतमा एकता महाधिवेशन गर्ने निर्णय गरेको नेकपामा दुई पार्टीका नेताहरुबीच एकले अर्कोका सदस्य मान्ने नमान्ने विषयमा लफडा सुरु भएको हो ।
पूर्वएमाले नेताहरुले पूर्वमाओवादीका तीन लाख सदस्य भएको विवरणमा आशंका व्यक्त गरेका छन् । संगठन विभागको बैठकमा सदस्यता नविकरण गर्ने विषयमा पूर्वमाओवादीका सदस्यहरुको नामावलीलाई लिएर विवाद भएको स्रोतले बतायो । विभागको बैठकमा पूर्वएमाले सदस्यहरुले पूर्वमाओवादीका तर्फबाट पेस तीन लाख सदस्यहरुको लिखित कागजात नभएकोले आधिकारिक मान्न नसकिने बताएपछि विवाद भएको छ । त्यसपछि पूर्वमाओवादी नेताहरुले पार्टी एकता गर्दा भएको सहमति विपरित भन्दै आपत्ति जनाएका थिए ।
विभागमा उपाध्यक्ष वामदेव गौतम संयोजक र स्थायी समिति सदस्य जनार्दन शर्मा सहसंयोजक छन् । गौतम एमाले र शर्मा माओवादीका हुन । विभाग बैठकमा महाधिवेशन प्रयोजनार्थ पार्टी सदस्यहरूको सदस्यता नवीकरण गर्ने निर्णय भएको थियो । त्यसपछि पूर्वमाओवादीका सदस्यहरुले तीन लाख सदस्यको जानकारी विभागमा गराएपछि उनीहरुको लिखित रुपमा कुनै पनि कागाजात नभएकाले कसरी आधिकारिक मान्ने भनेर पूर्वएमाले नेताहरुले प्रश्न उठाएकाले विवाद भएको हो । आगामी चैतमा महाधिवेशन गर्ने निर्णय गरेको नेकपामा महाधिवेशन केन्द्रित सदस्यता नविकरणको विषयमा विवाद देखिएको हो ।
बैठकले मंसिरभित्र सदस्यता नवीकरण गर्ने कार्ययोजना तयार पारेको छ । असोज मसान्तभित्र सदस्यहरूको विवरण संकलन गर्ने, कात्तिकभित्र अद्यावधिक र मंसिरभित्र नवीकरण गर्ने निर्णय भएको विभागका एक सदस्यले जानकारी दिए ।

