‘जनवादी क्रान्ति लडेर लोकतन्त्र ल्याउन सफल भयौं’ : नेता खनाल

असोज ४, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले ५८ वर्षको जनवादी क्रान्ति र लोकतान्त्रिक आन्दोलन लडेर बनाएको संविधान उदाहरणीय रहेको बताएका छन् । शनिबार साँझ ‘विश्व इलामेली सम्मेलन–२०२०’ को भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले आजको दिन संविधान निर्माण भएको ऐतिहासिक दिन भएको बताए ।

“आजभन्दा ३० वर्ष अघिसम्म तत्कालीन शासकले कुण्ठित गरेको अधिकार ल्याएर हामी अहिले नयाँ व्यवस्थामा छौं”, खनालले भने । उनले सम्भावनै सम्भावनाले भरिपूर्ण इलाम ‘देशकै नमूना जिल्ला’ रहको उल्लेख गरे । चिया, अलैँची, अदुवा लगायतका कृषिउपज उत्पादन हुने नेपालकै उत्कृष्ठ जिल्लामा इलाम पर्ने खनालले बताए । विगतमा विजुली, खानेपानी र सडक पूर्वाधार रहेको इलाममा अहिले भने धेरै पूर्वाधार पुगेको उनले बताए । “इलामका लागि गर्न बाँकी धेरै काम छन्”, खनालले भने, “यहाँ पर्यटकीयदेखि कृषिजन्य पदार्थ उत्पादनका लागि पनि उल्लेखनिय काम गर्न बाँकी छ ।”

बैठकमा नेकपा संसदीय दलका उपनेता एवम् पूर्वसभामुख सुवास नेम्वाङले अधिकार प्राप्तिका लागि आन्दोलन गर्ने दिन गएको बताए । नेम्वाङले सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा आएर जनताका प्रतिनिधिले निर्माण गरेको संविधानमा सबैका हक र अधिकार लेखिएको उल्लेख गरे ।

उनले शान्ति प्रक्रिया, २०६२÷०६३ को जनआन्दोलन गरेर लेखिएको संविधान विश्वकै उदाहरणीय रहेको बताए। नेम्वाङले संविधानले तराईदेखि हिमालसँगका जनताले आफ्नो भनेर गौरव गर्न सक्ने संविधान बनेको बताए। “दलित, जनजाति, महिला लगायत सबैको हक÷अधिकार लेखिएको संविधान बनाएका छौ”, नेम्वाङले भने, “हामीले यसैमा गौरव गर्नुपर्छ ।” अहिलेको सरकारले पनि धेरै काम गरेका कारणले पनि संविधान कार्यान्वयन प्रभावकारी ढङ्गले अघि बढेको उनले जिकिर गरे।रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.