असोज ३, काठमाडौँ । सरकारले संविधान दिवसको अवसरमा वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रूइतलाई सुप्रसिद्ध प्रवल जनसेवा श्री (प्रथम) बाट सम्मान गर्ने भएको छ । यस वर्षको संविधान दिवसको अवसरमा सरकारले वरिष्ठ आँखारोग विशेषज्ञ डा. सन्दुक रुइतलाई विभूषित गर्ने भएको हो ।
देश–विदेशमा सुपरिचित डा. रूइतले हजारौं नेपालीको आँखाको ज्योति फर्काउन सफल भएकोमा सम्मानित गर्न लागिएको हो । सन् २००६ मा रोमन म्यागासेसे पुरस्कार प्राप्त गेका रुइत तिलगंगा आँखा अस्पतालका निर्देशकमा कार्यरत छन् । रूपतसँगै सरकारले संविधान दिवसको अवसरमा ५ सय ९४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ। सैगरी गृह मन्त्रालयले प्रकाशित गरेको सूचना अनुसार प्रसिद्ध प्रबल जनसेवा श्री (द्वितीय) बाट ४ जना सम्मानित हुने भएका छन् ।
यस वर्ष सर्वोच्च मानपदवी ‘नेपाल रत्न’ भने कसैलाइ प्रदान नगरिने जनाइएको छ । जनसेवा, राष्ट्रको गौरव बढाउने कार्य, उन्नति र कीर्तिमानी काम गरेर महत्वपूर्ण योगदान दिने व्यक्तित्वहरूलाई सरकारले विभूषण प्रदान गर्दै आएको छ ।

