असोज ३, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोकतान्त्रिक संविधान अनुरुपको लोकतान्त्रिक व्यवहारमा इमान्दार बन्न आग्रह गरेका छन् ।
संविधान दिवसको अवसरमा शुभकामना दिँदै उनले प्रधानमन्त्री ओलीलाई लोकतान्त्रिक संविधान अनुरुपको लोकतान्त्रिक व्यवहारमा इमान्दार बन्न आग्रह गरेका हुन् । शुभकामना सन्देशमा सभापति देउवाले सरकारका संविधान विपरितका गतिविधिलाई आफूले गम्भीरतापूर्वक लिएको पनि बताएका छन् ।
“नेपाली कांग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्रीहरु क्रमशः गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नेतृत्वमा देशमा क्रमशः शान्ति स्थापना र संविधान निर्माण भएको अनि तीन तहको निर्वाचन गराएर मेरो नेतृत्वमा रहेको सरकारले संविधान कार्यान्वयन गरेको सर्वविदित नै छ,” शुभकामना सन्देशमा भनिएको छ, “तर, त्यसपछिका दिनहरूमा संविधानको सफलताका लागि बाँकी कार्यभारहरु पूरा गर्नेभन्दा संविधानको भावना विपरीतका गतिविधि नेकपाको नेतृत्वमा रहेकोे सरकारबाट भइरहेको छ । यसलाई मैले गम्भीरतापूर्वक लिएको छु ।”
प्रधानमन्त्रीको कार्यालयमा शक्ति केन्द्रित गर्ने कार्य, संविधानको भावना विपरीतका विधेयकहरु, प्रेस स्वतन्त्रता कुण्ठित गर्ने नियत र व्यवहार, प्रदेश र स्थानीय सरकारहरुलाई अधिकार, कर्मचारी र बजेट बिनियोजनमा गरिएका विभेदहरु, संवैधानिक अंगहरुको गरिमा अन्त्य गर्ने ढंगले गरिएका व्यवहारहरु, फरक विचार राख्ने वा विरोध गर्नेप्रति जाइलाग्न प्रस्तुत असहिष्णु अभिव्यक्तिले मुलुकलाई जटिलतातर्फ लैजान सक्ने उनको भनाइ छ ।

