एक सय घरधुरी अन्धकारमा बस्न बाध्य

असोज २, तनहुँ । व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाका करिब सय घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत् सेवा सञ्चालन नहुँदा व्यास नगरपालिका–१४ का ५० र बन्दीपुर गाउँपालिका–६ का ६३ घरधुरी विगत लामो समयदेखि अन्धकारमा बस्न बाध्य भएका हुन् । विद्युत् नहुँदा मोबाइल चार्ज गर्न समस्या हुनुका साथै विद्यार्थीको पढाइसमेत प्रभावित हुने गरेको छ ।

सदरमुकाम दमौलीदेखि करिब १५ किलोमिटर दूरीमा रहेका व्यास नगरपालिका–१४ मास्दीघाट क्षेत्रका ५० घरधुरीमा विद्युत् पुयाउन पोल गाडिएको भए पनि कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी बन्दाबन्दीका कारण तार झुण्डयाउने कार्य अघि बढाउन नसकिएको वडाध्यक्ष काजीमान श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “गत मङ्सिर महिनामा पोल गाडेर असार मसान्तसम्म विद्युत् जडान सम्पन्न गर्ने लक्ष्य लिएको भए पनि मुलुकमा जारी बन्दाबन्दीका कारण काम रोकिएकाले विद्युत् पु¥याउन सकिएको छैन् ।” मास्दीघाट आसपासका बजार क्षेत्रमा नौ वटा सोलार बत्ती जडान गरेर उज्यालो बनाइए पनि अन्य क्षेत्रका बासिन्दा अन्धकारमय जीवन बिताउँदै आएको उहाँको भनाइ छ ।

त्यसैगरी, बन्दीपुर गाउँपालिका–६ का खहरे, थुमथुमे र ढाबलगायतका बासिन्दा पनि वर्षैदेखि अन्धकारमा बस्न बाध्य छन् । दमौली हुदै चितवन जोडिने बुद्धसिंमार्ग नजिक बसोबास गर्दै आएका बासिन्दाको घरमा बत्ती जडान कार्य नभएपछि उनीहरु अन्धकारमा बस्न बाध्य भएका हुन् । उक्त क्षेत्रमा पनि विद्युत् पोल गाडिएको तर तार झुण्डयाउने कार्य बाँकी रहेकाले विद्युत् पुयाउन नसकिएको वडाध्यक्ष सन्तबहादुर गुरुङले बताउनुभयो । उहाँले अब छिट्टै तार झुण्डयाउने कार्य अगाडि बढाउने बताउनुभयो । तनहुँ जलविद्युत् आयोजनाले उक्त क्षेत्रमा विद्युत् जडानको जिम्मा पाएको र ठेक्का प्रक्रियासमेत पूरा भइसकेकाले छिट्टै काम शुरु हुने विश्वास गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाको छ ।

“बन्दाबन्दीका कारणले पनि काममा ढिलाइ भएको हुनसक्छ”, उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षभित्रै बत्ती बाल्ने गरी काम गर्न आयोजनासँग पटक पटक आग्रह गर्दै आएका छौं ।” उक्त क्षेत्रमा विद्युत् सेवा पु¥याउन सकिए गाउँपालिकालाई अन्धकारमुक्त पालिका घोषणा गर्न सकिने उहाँको भनाइ छ । – रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.