कुलमानको प्रस्ताव मन्त्रिपरिषद्‍मा लगिएको ऊर्जामन्त्रीको सचिवालयको जानकारी

असोज १, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको सचिवालयले कुलमान घिसिङलाई पुनः चारवर्षे कार्यकालका लागि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा प्रस्ताव गरेको जानकारी दिएको छ ।

मन्त्री पुनका सचिवालय प्रमुख दुर्गाप्रसाद चापागाईंले बिहीबार सामाजिक सञ्‍जाल फेसबुकमार्फत सोमबारको मन्त्रिपरिषद् बैठकमा मन्त्री पुनले घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिका लागि प्रस्ताव पेस गरेको जानकारी दिए । चापागाईंले मन्त्रिपरिषद्‍ले प्राधिकरणको आवश्यकता र जनभावनाको कदर गर्दै मन्त्रिपरिषद्‍ले घिसिङलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिने विश्वाससमेत व्यक्त गरेका छन् । “नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका सन्दर्भमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री माननीय वर्षमान पुनज्यूले गत सोमबारको मन्त्रिपरिषद् बैठकमा कुलमान घिसिङलाई आगामी चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्ति गर्न प्रस्ताव पेस गर्नुभएको र हाल उक्त प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विचाराधीन अवस्थामा रहेको छ,” चापागाईंले भनेका छन्, “अतः प्राधिकरणको आवश्यकता र आमजनचाहनालाई मध्यनजर गर्दै मन्त्रिपरिषदले उक्त प्रस्तावमाथि छिट्टै निर्णय गर्ने आशा गर्दछु ।

” चापागाईंले मन्त्री पुनले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेरै घिसिङको मात्र नाम मन्त्रिपरिषद्‍मा प्रस्ताव गरिएको स्पष्ट पारे । गत २८ भदौमा कार्यकारी निर्देशकका रुपमा चारवर्षे कार्यकाल सकाएका घिसिङको प्राधिकरणले ३१ भदौमा औपचारिक बिदाइ गरेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.