साउन ९, काठमाडौं । प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसको अवरोधपछि बुधबार बसेको राष्ट्रियसभको बैठक स्थगित भएको छ । बैठक सुरु हुने वित्तिकै कांग्रेसका सभासदहरुले उठेर विरोध जनाएपछि बैठक अबरुद्ध भएको हो ।
नेपाली काग्रेसका सांसद बद्री पाण्डेले सरकारले प्रा.डा. गोविन्द केसीसँग वार्ताका लागि गरेको प्रयासलाई सकारात्मक रुपमा लिएको उल्लेख गर्दै वार्तामा टुङ्गोमा पु¥याउन माग गरे । उनले डा. केसी जुम्लामा अनशन रहँदाको अवस्थामा भएको जुम्ला घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन आउनुपर्ने र नेपाली चेलीहरुको अस्मितामा आँच पुग्ने गरी बोलेको भन्दै व्यवसायी दुर्गा प्रसाईंलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने पनि माग गरे ।
अवरोधका बीचमा उठेर सांसद रामनारायण विडारीले कुन नियम र के आधारमा प्रतिपक्ष दलका सांसदहरुले सदन अवरुद्ध गरेको हो भन्दै कारण खुलाउन माग गरे । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्त्रीहरुलाई राष्ट्रियसभा बैठकमा समयमै उपस्थित हुन रुलिङ गरेका छन् । तर प्रतिपक्षको अवरोधका कारण बैठक चल्न नसके पनि राष्ट्रियसभाका विषयत समितिमा सदस्यहरुको मनोनयन गर्ने विषयलाई कार्यसूचीबाट हटाइएको छ । राष्ट्रिय सभाको अर्को बैठक साउन १६ गते बुधबार ११ बजे बस्ने तय भएको छ ।